तोकियो रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रको मतगणनास्थल — OSNepal

तोकियो रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रको मतगणनास्थल

LC (KTM) October 20, 2022 0

रुपन्देही-रुपन्देहीमा पाँचवटै निर्वाचन क्षेत्रमा अलगअलग मतगणना गरिने भएको छ । विसं २०७४ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना जिल्लाको सदरमुकाम भैरहवामै दुई स्थानमा गरिए पनि यसपटक पाँचवटै क्षेत्रमा गणना हुने भएको हो ।यसका लागि प्रत्येक निर्वाचन क्षेत्रका सबै दृष्टिले उपयुक्त देखिएको स्थानमा मतगणना स्थलसमेत तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शोभाकर खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं १ का लागि देवदह नगरपालिकाको शीतलनगरमा रहेको देवदह बहुमुखी क्याम्पसलाई मतगणनास्थल तोकिएको छ । क्षेत्र नं २ का लागि बुटवल उपमहानगरपालिकाको कार्यालय र क्षेत्र नं ३ का लागि भैरहवा नमूना माध्यमिक विद्यालयलाई मतगणनास्थल तोकिएको छ ।

यस्तै क्षेत्र नं ४ का लागि कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र क्षेत्र नं ५ का लागि गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई तोकिएको सहायक निर्वाचन अधिकृत खरेलले जानकारी दिनुभयो ।मतगणनामा सहजता ल्याउन अहिले पाँचवटै निर्वाचन क्षेत्रमा गणनाको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताउनुभयो । “एउटै क्षेत्रको मतगणनाका लागि करिब छ वटा कोठा चाहिन्छ”, उहाँले भन्नुभयो, “सदरमुकाम ल्याउँदा चाप बढ्ने कारणले पनि सम्बन्धित निर्वाचन क्षेत्रमै मतगणनाको व्यवस्था मिलाइएको छ ।”

उहाँले मतपेटिकाको सङ्ख्या धेरै हुने र प्रतिनिधिसभा तथा प्रदेशसभाको अलगअलग गणना हुने व्यवस्था मिलाइएको बताउनुभयो । कम्तीमा तीन वटा कोठा मतपेटिका राख्न, एक कोठामा प्रतिनिधिसभा, एउटामा प्रदेशसभा १ र अर्कोमा प्रदेशसभा २ गरी कम्तीमा पनि छ कोठा आवश्यक रहेको उहाँको भनाइ छ । “मतगणनास्थल छनोट गर्दा सबैको रायसुझावमा र सबैभन्दा सुरक्षित स्थानमा हुने गरी गरेका छौँ”, उहाँले भन्नुभयो, “अब अन्य व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार गरी आग्रह गर्नेछौँ ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालय भैरहवामा आज बिहान बसेको उम्मेदवार, राजनीतिक दल, पत्रकार, सुरक्षाकर्मीलगायतले आचारसंहिताको पालनका बारेमा पनि छलफल गरेको थियो । रुपन्देहीमा निर्वाचन प्रचारप्रसारका क्रममा हुनसक्ने आचारसंहिता उल्लङ्घनलाई लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई सचेत गराएको छ । विशेषगरी भारतीय गाडीको प्रयोग र उम्मेदवारले प्रयोग गर्ने सवारीका विषयलाई लिएर सतर्कता अपनाउन आग्रह गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचनपछि पनि निर्वाचन आयोगले कारवाही गर्नसक्ने बताउनुभयो ।

उहाँले अहिले आचारसंहिता उल्लङ्घन गर्नेबारे लिखित उजुरी दिन पनि सम्बन्धितलाई आग्रह गर्नुभयो । गृहमन्त्रीले सुरक्षाकर्मी परिचालन गरी प्रचारप्रसार गरेको गुनासोबारे प्रजिअ पाण्डेले व्यक्तिलाई नभई पदलाई नियमानुसार सुरक्षा प्रदान गरेको बताउनुभयो । “उहाँ उम्मेदवार मात्र नभई देशको गृहमन्त्री पनि हो, गृहमन्त्रीलाई नियमानुसार सुरक्षा दिनुपर्ने हुन्छ”, पाण्डेले भन्नुभयो, “अहिले उहाँ उम्मदेवार भएर निजी सवारीमा हिँडिरहनुभएको छ । हामी गृहमन्त्रीलाई सुरक्षा दिइरहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर