कर्णालीबाट स्वतन्त्र सहित तीन जना मात्र महिला उम्मेदवार — OSNepal

कर्णालीबाट स्वतन्त्र सहित तीन जना मात्र महिला उम्मेदवार

LC (KTM) October 11, 2022 0

सुर्खेत, २५ असोज :

कर्णाली प्रदेशका १० जिल्लाबाट स्वतन्त्र उम्मेदवारसहित तीन जना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन जना महिलाहरू चुनावमा भिड्दै छन् । जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा रहेका छन् ।

जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेखमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै छिन् ।दुवै जनाले संविधानसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएर संघीय सरकारमा राज्यमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । कुँवर २०७० को दोस्रो संविधानसभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बनेकी थिइन् भने राप्रपा महामन्त्री शाही ०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र २०७४ मा ३ महिना सहरी विकास मन्त्री भएकी हुन् ।

दुवै जना पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लडेका थिए । जसमा कुन्ती दुवै पटक सफल भइन् भने गोमा पहिलो निर्वाचनमा असफल भए पनि दोस्रो पटक सफल भइन् ।जुम्लाको विकट तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँमा जन्मेकी गोमा १४ वर्षकै उमेरमा जनयुद्धमा होमिएकी हुन् । ०५६ सालमा सोही पालिकाकै वडा नम्बर ७ का वीरबहादुर कुँवरसँग उनले जनवादी विवाह गरिन् । वीरबहादुर पनि जनयुद्धमै सहभागी थिए ।

कुन्ती शाहीको राजनीतिक यात्रा भने अनेरास्ववियुबाट सुरु भएको हो । ०४७ सालमा राप्रपामा लागेकी उनले राप्रपाको महामन्त्री बन्न झण्डै तीन दशक संघर्ष गर्नुपर्‍यो । उनको पारिवारिक पृष्ठभूमि पञ्चायती राजनीति नै भएकाले उनी राप्रपाको राजनीतिमा समावेश भएकी थिइन् । विद्यार्थी राजनीतिमा उनले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा निकै लोकप्रियता कमाएकी थिइन् । अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन् ।

शाहीसँग प्रतिस्पर्धामा रहेका एमाले नेता रवीन्द्रराज शर्मा दोस्रो पटक चुनाव लड्दै छन् भने गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मर बहादुर थापा दैलेखका लागि पुरानै अनुहार हुन् । त्यस्तै डोल्पाबाट प्रतिनिधिसभामा बदमी क्वारा बुढाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यो भन्दा पहिला डोल्पाबाट प्रदेशसभा सदस्य रहकी बुढा नेकपा एमालेले अन्तिममा आएर एसबाट एमालेमा प्रवेश गरेका गणेश शाहीलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । गठबन्धनका धनबहादुर बुढा , नेकपा एमालेको तर्फबाट गणेश शाहीसँग उनी चुनाव भिड्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर