नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

LC (KTM) October 17, 2022 0

दमौली-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो । फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलमा मधेस प्रदेशलाई ७१–१३ ले पराजित गरेको थियो । फुलकोर्टमै त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० ले पराजित गरेको छ । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित गरेको छ । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १२–४ अङ्कले पराजित गरेको छ ।

तेस्रो दिन छ खेल सम्पन्न-प्रतियोगिताको तेस्रो दिन आइतबार छ खेल सम्पन्न भएका छन् । उक्त खेलमा बागमती प्रदेश, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जित हासिल गरेको छ । फुलकोर्टतर्फको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६७–४३ अङ्कले पराजित गरेको छ । बागमतीले पहिलो क्वाटरमा २५–५, दोस्रो क्वाटरमा १३–८, तेस्रो क्वाटरमा २०–१४ र चौथो क्वाटरमा ९–१६ अङ्क प्राप्त गरेको छ । खेलमा बागमतीका अनुशा मल्लले व्यक्तिगत १४ र गण्डकीका सीमा गर्बुजाले १६ अङ्क जोड्नुभएको थियो । फुलकोर्टतर्फ सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४५–२१ अङ्कले पराजित गरेको छ । सुदूरपश्चिमले पहिलो क्वाटरमा १२–३, दोस्रो क्वाटरमा ११–७, तेस्रो क्वाटरमा ६–६ र चौथो क्वाटरमा १६–५ अङ्क प्राप्त गरेको छ । उक्त खेलमा सुदूरपश्चिमका प्रविना गुरुङले व्यक्तिगत १८ र मधेसका विपना गिरीले नौ अङ्क जोड्नुभएको थियो ।

थ्री बाई थ्रीतर्फ गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । गण्डकीले सुदूरपश्चिमलाई १७–७ ले पराजित गरेको हो । गण्डकीको जितमा स्मृति गुरुङले व्यक्तिगत रुपमा सबैभन्दा बढी सात अङ्क जोड्नुभएको थियो । सुदूरपश्चिमतर्फ कविता राईले पाँच अङ्क जोड्नुभयो । थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीले प्रदेश नम्बर १ लाई २१–५ अङ्कले पराजित गरेको छ । उक्त खेलमा सशस्त्रका आकृति श्रेष्ठले व्यक्तिगत दश र प्रदेश नम्बर १ का सम्झना राईले तीन अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच भएको खेलमा त्रिभुवन आर्मी क्लब १२–४ ले विजयी भयो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले व्यक्तिगत छ र बागमतीका आर्या क्षेत्रीले दुई अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ मधेस प्रदेश र लुम्बिनी प्रदेशबीच भएको खेलमा लुम्बिनीले मधेसलाई १४–१ ले पराजित गरेको छ । उक्त खेलमा लुम्बिनीका खुसी खाँणले छ अङ्क जोड्नुभएको थियो ।

आज पाँच खेल-प्रतियोगिताको चौथो दिन आज पाँच खेल सञ्चालन हुनेछ । फुलकोर्टतर्फ एक र थ्री बाई थ्रीतर्फ चार खेल सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । फुलकोर्टतर्फ गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ । थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरी र सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल मङ्गलबार सञ्चालन गरिनेछ । प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमानले जानकारी दिनुभयो । पाँच जना खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ रहेका छन् । तीन जना खेलाडी खेल्नेतर्फ समूह ए मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर