नेपालमै पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम सुरु — OSNepal

नेपालमै पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम सुरु

LC (KTM) October 17, 2022 0

नेपालमै पहिलो पटक राजधानीमा टाक्सिडर्मी (मरेका जीवहरूको छाला तथा भुवा प्रयोग गरी ती जीवहरूलाई जीवित झै बनाई उनीहरूको प्राकृतिक बास स्थानको प्रतिलिपि बनाई ती बासस्थानमा प्रदर्शनीको लागि सयौं वर्षसम्म नकुहिने नबिग्रने गरी सजाउने कला) तालिम प्रारम्भ भएको छ ।नेपाल इन्जिनियरिङ कलेज (नेक) र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयको संयुक्त आयोजनामा १५ दिने पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको हो ।

प्राकृतिक विज्ञान संग्रहालयका निर्देशक डा गणेशबहादुर थापाले उदघाटन सत्रको अध्यक्षता गरेका थिए । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले पेशागत टाक्सिडर्मी पानसमा बत्ती बाली तालिमको उदघाटन गरेका थिए ।

आफ्नो शिकार कौशलता प्रदर्शन गर्न राणाकालमा तथा पंचालयतकालमा नेपालका कयौं दरबारका भित्ता तथा सभाकक्षहरू टाक्सिडर्मी गरिएका जीवजन्तुहरूबाट सजाइएका हुन्थे भने अहिले टाक्सिडर्मीको मूल उद्देष्य सामान्यदेखि दुर्लभ जीवहरूको नक्साङ्कन गरी सजाउने, सामान्यतया हिंसक जीवहरूको नजिकबाट अध्ययन गर्न मिल्ने वातावरण बनाउने तथा लोप हुन लागेका जीवहरूको प्रतिमूर्ति बनाई सुरक्षितसाथ वर्तमान तथा भावी पुस्ताहरूले अवलोकन गर्न मिल्ने गरी सर्वसाधारणको लागि प्रदर्शनी गर्नु रहेको छ । विकसित देशहरूमा टाक्सिडर्मीको महत्व धेरै हुन्छ । टाक्सिडर्मी गरी सजाइएका संग्रहालयमा वार्षिक लाखौं दर्शकहरूको घुइचो लाग्छ र ती संग्रहालयमा भ्रमण गर्ने दर्शकहरूबाट उठाइएको शुल्क करोडौं डलर हुन्छ ।

दुर्भाग्यवस टाक्सिडर्मीको महत्व नबुझेको कारण तालिमप्राप्त टाक्सिडर्मीहरू नेपालबाट विस्तारै हराउँदै छ । अहिले नेपालमा तालिम प्राप्त पेशागत टाक्सिडर्मीस्टहरू दुईतीन जना मात्र बाँकी छन् । नेपालमा टाक्सिडर्मीहरूको यही कमीलाई केही हदसम्म भए पनि पुरा गर्न नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यपक डा नारायणप्रसाद कोजु जर्मनका विख्यात् टाक्सिडर्मीस्ट मार्को फिसरसँग विगत केही वर्षदेखि नियमित सम्पर्कमा रहेका थिए । डा कोजुको यही अथक प्रयासको फलस्वरूप मार्को फिसर नेपालमा आउने अवसर जुरेको थियो । यही अवसरलाई सदुपयोग गरी नेपाल इन्जिनियरिङ कलेज (नेक) र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको हो ।

तालिम कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज, त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालय, केन्द्रिय वातावरण विभाग, केन्द्रिय जीव विज्ञान विभाग, त्रिचन्द्र कलेज, वनविज्ञान अध्ययन संस्थान, ललितकला क्याम्पस, शिवपुरि राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सदर चिडियाखाना, लुम्विनी बौद्ध विश्वविद्यालय,अस्कल कलेज तथा गोल्डेनगेट इन्टरनासनल कलेज गरीनेपालका १३ वटा संस्थाका कर्मचारीहरूले भाग लिएका छन् । तालिमबाट दिक्षित व्यक्तिहरूले पेशागत रूपमा सफलता हासिल गरी नेपालमा टाक्सिडर्मी पेशाको पुनरुत्थान गर्ने आशा लिइएको छ ।

उदघाटन सत्रमा त्रिवि विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राडा विनित अर्याल, जीव विज्ञान विभागका प्रमुख प्राडा तेजबहादुर थापा तथा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले पनि टाक्सिडर्मीको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक डा नारायणप्रसाद कोजुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर