सबैले आफूलाई रुपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी : मुख्यमन्त्री भट्ट — OSNepal

सबैले आफूलाई रुपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी : मुख्यमन्त्री भट्ट

LC (KTM) October 17, 2022 0

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताउनुभएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रमा मुख्यमन्त्री भट्टले सङ्घीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राप्त सङ्घीय व्यवस्था संस्थागत भइरहँदा सबैले आफूलाई रुपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी छ ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले समाजमा अपराध रोकथाम गरी जनतालाई शान्तिसुरक्षा प्रदान गर्नमा नेपाल प्रहरीले गरिरहेको कामको प्रशंसा गर्नुभयो । उहाँले प्रदेशसभाले बनाएको प्रदेश प्रहरी ऐनबमोजिम आगामी दिनमा गठन हुने नयाँ सरकारले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक रणबहादुर चन्द, वकिल सिंह, नरपति भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, प्रहरी वरिष्ठ हवल्दार दिनेश नाथ, प्रहरी सहायक हवल्दार मीना रोकाया र प्रहरी जवान गीताकुमारी विष्टलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत गरिएको थियो ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले समाजमा शान्ति सुव्यवस्था र अमनचयन गर्नमा प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा सहभागीले अमर प्रहरी स्मारकमा पुष्पार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर