क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण — OSNepal

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

LC (KTM) October 18, 2022 0

पोखरा -नेपाल पुलिस क्लबको महिला क्रिकेक टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पाँच रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जित्न सफल भयो । पुलिसले राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्रीको कप्तानीमा पहिलो पटक महिला क्रिकेट बनाएको हो ।

जितको लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रनमा समेटियो । एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

एपिएफलाई ८४ रनमा समेट्नेक्रममा पुलिसकी ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान १÷१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाइन भने सम्झना खड्काले २१ रन जोडिन । कविता जोशीले अविजित १३ रनको इनिङ खेल्दा कविता कुवँरले ११ रन बनाइन । यसैगरी कप्तान रुबिना क्षेत्रीले ८ रन बनाइन भने अप्सरी बेगमले अविजित २ रन बनाइन् ।

एपीएफका लागि नेरी थापा, ईन्दु बर्मा र कप्तान सीता राना मगरले समान १÷१ विकेट लिए । यस हारसँगै एपीएफ रजतपदकमा चित्त बुझाएको छ । आजै भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको थियो । सोही प्रतियोगिताको पुरुषतर्फको खेलमा पनि नेपाल पुलिस क्लबले नै स्वर्ण पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर