भक्तपुरमा एमाले उम्मेदवार थापालाई लौरो अभियानका प्रदेश उम्मेदवारद्वारा समर्थन — OSNepal

भक्तपुरमा एमाले उम्मेदवार थापालाई लौरो अभियानका प्रदेश उम्मेदवारद्वारा समर्थन

LC (KTM) November 12, 2022 0

भक्तपुर, २६ कार्तिक । लौरो अभियानका प्रदेश उम्मेदवार उत्तर प्रसाद घिमिरेले एमालेका उम्मेदवार किरण थापालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।आज नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा आयोजना गरेको घरदैलोका क्रममा लौरो अभियानका उम्मेदवार घिमिरेले एमाले उम्मेदवार थापालाई समथर्न गर्ने घोषणा गर्नुभयो । घिमिरेले थापालाई आफ्नो अभियानको लौरो जनतालाई साक्षी राख्दै थापालाई हस्तान्तरण गर्नुभयो । हस्तातरण पछि घिमिरे एमालेको घरदैलो अभियानमा सहभागिता जनाई जनतासामु भोट माग्दै जनताको घरदैलोमा पुग्नुभएको थियो ।

आफ्नो समर्थन एमाले उम्मेदवार थापालाई जनाउँदै लौरो अभियानका उम्मेदवार घिमिरेले आफु कुनै लोभ लालच, प्रभाव तथा दवापमा नपरी स्वतस्फुर्त रुपमा आत्मादेखी नै समर्थन गरेको बताउनुभयो । एमाले उम्मेदवार थापा र आफ्नो अभियानको निश्चित लक्ष्य नै एउटै भएकाले समर्थन गरेको घिमिरेले बताउनुभयो । एमालेले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा खेलेको भूमिका मुलुकको हितमा रहेको उल्लेख गर्दै घिमिरेले एमालेको अभियानलाई समर्थन गर्नु नै अहिलेको लागि उत्तम उपाय भएकाले सम्पूर्ण लौरो अभियानका समर्थकलाई आगामी निर्वाचनमा एमालेमा मतदान गर्न आग्रह गर्नुभयो ।

एमाले उम्मेदवार थापाले आफु एमालेको मात्र नभई आम जनताको उम्मेदवार भएकाले लक्ष्य र उद्देश्य मिल्ने सम्पूर्ण राजनीतिक दल, स्वतन्त्र तथा आम सूर्यविनायकवासी जनतालाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो । आफु सामाजिक तथा व्यवसायीक क्षेत्रमा समेत संलग्न रही जनताको सेवामा समर्पित भएको उदाहरण प्रस्तुत गर्दै एमाले पार्टीको टिकटबाट आम सूर्यविनायकवासी जनताको प्रतिनिधित्वको लागि निर्वाचनमा होमिएको उम्मदवार थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई एमाले पार्टीले विश्वास र भरोसा गरी भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभाको टिकट दिएको छ । अहिले एमालेको प्रतिनिधि पात्र हुँ तर जनताको सारथी हुँ । मैले सामाजिक तथा व्यवसायीक क्षेत्रको समेत धेरै ठाउँहरुमा नेतृत्व गरेको छु । जहाँ राजनीतिक तथा अन्य कुनै भेदभाव नगरी जनताको सेवामा समर्पित भएको छु । आगामी मंसिरमा हुने निर्वाचनमा पनि आफुलाई अत्याधिक मतका साथ सूर्यविनायकवासीले विजयी गराउनुहुनेछ भन्नेमा विश्वास लिएको छु । जनताको एक मतको विश्वासलाई पाँच वर्ष जनताको सेवामा घरघरमा आउनेछु । विकास र समृद्धिको लहर ल्याउनेछु । जनताको चाहना, आवश्यकता र मागलाई ध्यानमा राखी प्रदेशसभामा सूर्यविनायक नगरपालिका तथा जनताको हितमा म शसक्त भूमिका निर्वाह गर्नेछ ।’

घरदैलो कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, जिल्ला अध्यक्ष बचन देउजालगायतका सयौं नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा दर्जनौं जनताले आफ्नो घर अगाडी एमाले उम्मेदवारहरुलाई माला तथा खादा लगाई स्वागत गर्दै विजयको अग्रिम शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर