मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा — OSNepal

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा

LC (KTM) November 13, 2022 0

मोरङ-मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उहाँहरुबीचको तेस्रो प्रतिस्पर्धा हो ।

२०७० मा भएको संविधानसभाको निर्वाचनमा डिगबहादुर लिम्बू १५ हजार दुई सय दुई मतसहित निर्वाचित हुँदा घनश्यामले १२ हजार नौ सय ८९ मत प्राप्त गर्नुभएको थियो । तर २०७४ सालमा वामगठबन्धनको साझा उम्मेद्वार बन्नुभएका खतिवडाले लिम्बुलाई पराजित गर्नुभएको थियो । भौगोलिक हिसाबमा जिल्लाको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र मोरङ १ मा उत्तरी मोरङका केराबारी र मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र पूर्वी मोरङको उर्लाबारी नगरपालिका पर्दछन् ।

एक लाख २३ हजार छ सय १५ जना मतदाता रहेको निर्वाचन क्षेत्रमा नौ दल र पाँच स्वतन्त्र उम्मेद्वार गरी १४ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राप्रपाका होमनाथ गौतम उर्लाबारीकै भएकोले उहाँको प्रचार उर्लाबारी केन्द्रित छ । यो क्षेत्रमा नेपाल मजदूर किसान पार्टीका लक्ष्मीप्रसाद कवाँ, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरज लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धमाया लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ र राष्ट्रिय जनमुक्त पार्टीका हर्कमान सम्बाहाम्फे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै पाँचजना स्वतन्त्र उमेद्वारमा तिलकबहादुर मगर, मनिषा सुवेदी, फुलकुमारी पण्डित, निलु लिम्बू र यामप्रसाद दाहाल रहनुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका चार स्थानीय तहका ३७ वडामा दलगत वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको ९३५ मत बढी देखिन्छ । एमालेका उम्मेदवारले ३२ हजार तीन सय ६६ र कांग्रेसका उम्मेदवारले ३१ हजार चार सय ३१ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवारले ६ हजार पाँच सय ८१, नेकपा समाजवादीले एक हजार ९३, राप्रपाले दुई हजार आठ सय ९० र जसपाका उम्मेदवारले चार सय ९४ मत पाएका थिए ।

कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बूले उत्तरी मोरङको कृषि पर्यटनलाई विकास गर्न सडक सञ्जाल र विद्युत् विस्तारलाई सबैभन्दा प्राथमिकतामा राखेको बताउनुभएको छ । कृषिबाट आयआर्जन गर्न सकिने उत्तरी मोरङको अलैँची, अम्लिसो, तेजपातको उत्पादन भण्डारण र प्रशोधनका लागि पहल गर्ने लिम्बूको भनाइ छ ।

त्यस्तै एमाले उमेद्वारा घनश्याम खतिवडा नीति निर्माण र यस क्षेत्रका समस्या सदनमा उठाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाई रहनुभएको छ । नदी नियन्त्रण र व्यवस्थापन, स्वच्छ र शुद्ध खानेपानीको पहुँच विस्तार, आधारभूत स्वास्थ्य निःशुल्क र पूर्व-पश्चिम राजमार्गसँग उत्तरी मोरङका सबै वडालाई कोलोपत्र सडकको सञ्जालले जोड्ने प्रमुख एजेन्डासहित एमाले उम्मेदवार खतिवडाले अगाडि सार्नु भएको छ ।

मोरङ १ प्रदेशसभा १ मा माओवादी केन्द्रका निवर्तमान सांसद कुलप्रसाद साँवा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ । एमालेले उमाकान्त गौतमलाई उम्मेदवार बनाएको छ । यहाँ चार दल र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । राप्रपाले पूर्णबहादुर वाइबा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अर्जुन सिंह लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेशनले शिवकुमार राईलाई उम्मेदवार बनाएको छ भने खड्गबहादुर थापा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । मोरङ १ प्रदेशसभा २ मा प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै एमालेबाट जिल्ला विकास समिति मोरङका पूर्व सभापति खड्गबहादुर बस्नेत हुनुहुन्छ । यहाँ छ दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । राप्रपाले सन्तोष कार्की, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कृष्णकुमार लिम्बू, मङ्गोल नेशनल अर्गनाइजेसनले ओमकुमार लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट टङ्कबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक राई चुनावी मैदानमा हुनुहुन्छ ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर