भक्तपुरको गठबन्धनमा करेन्ट लागेको छ : पूर्वमन्त्री बस्नेत — OSNepal

भक्तपुरको गठबन्धनमा करेन्ट लागेको छ : पूर्वमन्त्री बस्नेत

LC (KTM) November 17, 2022 0

भक्तपुर, १ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी संगठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरुमा करेन्ट लागेको बताउनुभएको छ । क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिका वडा नं. ६ चपाचोमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेको चुनावी अभियान देखेर गठबन्धनका दलहरुमा वर्वराहट हुन थालेको बताउनुभयो । चुनावी एजेन्डा नै नभएपछि गठबन्धनका दलहरुले एमालेको विरुद्धमा भ्रम फैलाउँदै जनताको बिचमा जाने गरेको आफुलाई जानकारी आएको उल्लेख गर्दै उहाँले कांग्रेसका टोल कमिटीका नेताहरुले नै एमालेमा भोट हाल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई भक्तपुरमा जाडो महिनामा माग्नेको धोती लगाएको जस्तो भएको छ । जाडोमा मागेर लगाएको धोती छ, माथि लगाउँदा मुनी हुँदैन, मुनी लगाउँदा माथि हुँदैन । मध्यपुर तिर दैडियो सूर्यविनायक तिर विग्रएको छ, सूर्यविनायक तिर दौडियो मध्यपुरतिर विग्रीएको छ । त्यसैले एमालेलाई सूर्यविनायक तथा मध्यपुर जता गए पनि स्वागत गरेका छन्, विजयको शुभकामना दिएका छन् । कांग्रेसको टोल टोलमा विद्रोह भएको छ, टोल टोलमा महेश बस्नेत खोजिदैछ, एमाले बोलाईदैछ । कांग्रेसले दवाएर राखेका पिडाहरु निर्वाचनमा विस्फोट भएको छ । त्यसैले मध्यपुर तथा सूर्यविनायकमा कांग्रेसमा तरंग पैदा भएको छ, ठूलो करेन्ट लागेको छ । त्यो तरंग र करेन्टले मंसिर ४ गते एमाले र सूर्य चिन्हलाई नयाँ उचाईमा पुर्याउने छ ।’

कांग्रेसले महेश बस्नेत र एमालेका उम्मेदवार विरुद्ध भ्रमको खेती गरिरहेको उल्लेख गर्दै उहाँले उक्त भ्रमलाई जनताले अस्वीकार गरी एमालेका उम्मेदवारलाई २४सैं घण्टा घरघरमा स्वागत तथा एमालेमा प्रवेश गरिरहेको बताउनुभयो । हनुमन्ते करिडोर कुनै पनि हालतमा बनाएरै छोड्ने प्रतिवद्धता जनाउँदै उहाँले भक्तपुरमा भौतिक पूर्वाधारको क्षेत्रमा एमाले नेतृत्वले गरेका विकासका कार्यहरुको जानकारी गराउनुभयो ।

कांग्रेसका नेताले बेचेको सार्वजनिक जग्गा पुनः सार्वजनिक बनाएरै छाड्ने उल्लेख गर्दै उहाँले विकास र समृद्धिको पक्षमा भक्तपुर नेपालकै सवैभन्दा उत्कृष्टमात्र नभई जनताको भाग्य र भविष्य उज्यालो बनाएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । महेश बस्नेतले विजयी भएपश्चात कानुन निर्माणको साथसाथै विकास निर्माणका कार्यहरुमा लाचारी नदेखाउने उल्लेख गर्दै उहाँले कानुन निर्माण र विकास निर्माणलाई सँगसँगै लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महेश बस्नेतले गुठी किनेको हैन, गुठीको पक्षीयतामा महेश बस्नेतले सहयोग गरेका कारण ठाउँ ठाउँमा महेश बस्नेतलाई बोलाएर स्वागत गरेका हुन, एमाले प्रवेश गरेका हुन् । हनुमन्ते महेश बस्नेतले बेचेको हैन, तिम्रा नेताले आफ्नो कान्छी श्रीमतीको नाममा लगेर बेचेका हुन् । ५४ रोपनी जग्गा कान्छी श्रीमतीको नाममा किन गर्यो ? कांग्रेसले बेचेको सार्वजनिक जग्गा पुनः सार्वजनकि नै बनाएरै छाड्छौं । किन हनुमन्ते करिडोर निर्माण हुन सकेन ? एउटा वडाध्यक्षले चिठ्ठि लेख्छ हनुमन्ते करिडोर नवनाउ भनेर, एउटा वडाध्यक्ष समिति बन्न दिँदैन ।

कांग्रेसको नगरकमिटीले निर्णय गर्छ, हनुमन्ते करिडोर बनाउँदिन भनेर । अनि जनतालाई भ्रम छर्छ, महेश बस्नेतले बनाउन दिएन भनेर । हनुमन्ते जग्गा एकीकरण आयोजना तथा ल्याण्ड पुलिङको माध्यमबाट हनुमन्ते करिडोरमा पर्ने जनतालाई क्षतीपूर्ति दिन्छौं । कुनै नागरिकलाई सुकुम्बासी बनाउँदैनौं । त्यसैले हनुमन्ते करिडोर एक बन्छ, दुई बन्छ, इन्द्रेको बाउ चन्द्रे आएपनि रोकिँदैन । अब मंसिर ४ पछि एमालेको सरकार आउँछ, रोकिएका सम्पूर्ण आयोजनाहरु बन्छन् ।’

कांग्रेस नेतृत्वमा भक्तपुरमा भएका भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्ती दोहन गर्ने, टिकट वितरणमा पार्टीलाई दोहन गर्ने कुशासनलगायतको कुराहरुको नेतृत्व गर्नेहरुले एमालेका उम्मेदवारहरुसँग तुलना गर्न लायक समेत नरहेको उहाँले बताउनुभयो । नेपाल इन्जिनियरिङ कलेजलाई सार्वजनिक बनाउने अभियानमा एमाले लागेको तर कांग्रेस तथा त्यसका उम्मेदवार नीजि बनाउन लागि परेको उल्लेख गर्दै उहाँले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउन एमाले लागेको तर पाँच लाख कमिशनमा कांग्रेसका नेता निकृष्ट बनाउन लागि परेको आरोप लगाउनुभयो ।

सपना नदेख्नेहरुले मुलुक बनाउन नसक्ने उल्लेख गर्दै उहाँले नेपालमा सुरुङ मार्ग, रेलमाार्ग, पानी जहाजलगायतका मुलुकलाई समृद्ध बनाउने योजना केपी ओलीले अगाडी बढाउनुभएको बताउनुभयो । भक्तपुरमा निर्माणको क्रममा अगाडी बढेका आधुनिक वीर अस्पताल, सभागृह, प्राणी उद्यान केन्द्र, रंगशाला, स्मार्ट सिटीलगायतका ठूला आयोजनाहरु एमालेले निर्माण गरेरै छाड्ने उल्लेख गर्दै उहाँले उक्त आयोजनाहरु कांग्रेसले रोक्न खोजिरहेको उल्लेख गर्नुभयो । भक्तपुर बनाउने पार्टीलाई भोट, भाँजो हाल्नेलाई चोट दिनुपर्नेमा जोड दिँदै उहाँले मंसिर ४ ओली सरकार हुने दावी गर्नुभयो ।

वाईडबडीमा शेरबहादुर देउवा, बालुवाटार जग्गामा माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतका नेताहरु काण्डै काण्डमा जोडिएको तथ्यहरु सार्वजनिक गर्दै नेता बस्नेतले हिम्मत भए अख्तियार तथा अदालत आफ्नै हातमा रहेको बेला एमालेले भ्रष्टाचार गरेको भन्ने आरोप लगाउनेले कारवाही गरेर देखाउन चेतावनी दिनुभयो । राष्ट्रको हितमा जहिले पनि हाजिर हुने प्रतिवद्धता जनाउँदै नेता बस्नेतले कांग्रेसको नेतृत्वमा भक्तपुर भन्दा नै लाज हुने गरी भ्रष्टाचार गर्ने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतितिनिधिसभा समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेश सभा ‘क’ का उम्मेदवार किरण थापा, ‘ख’ का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, बागमती प्रदेश समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथलालगायतका नेता तथा हजारौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर