म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन — OSNepal

म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन

LC (KTM) December 05, 2022 0

म्याग्दी-म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो ।

“बेनी नगरपालिकाले व्निियोजन गरेको रु ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको रु आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ”, उहाँले भन्नुभयो, “अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको रु १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौा ।”

म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवाले यही मङ्सिर पहिलो साता रु ३५ लाख ९३ हजार एक सय एकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ । ठेक्का मार्फत पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताउनुभयो ।

प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ ।

कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा रु छ लाख ५० हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा रु एक करोड र २०७५÷७६ मा रु ६० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु नौ लाख, अर्थ मन्त्रालयले रु ५० लाख, खेलकुद मन्त्रालयले रु ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ र ७८÷७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहँुदा खेलमैदान निर्माण रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर