नेपाली कांग्रेसका धनराज गुरुङको संसद्मा तेस्रो यात्रा — OSNepal

नेपाली कांग्रेसका धनराज गुरुङको संसद्मा तेस्रो यात्रा

LC (KTM) December 05, 2022 0

वालिङ-प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी हुनुभएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुनुहुन्छ । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उहाँ विजयी हुनुभएको थियो ।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित हुनुभएकी एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ हुनुहुन्छ । उहाँले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गर्नुभएको हो । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गर्नुभयो ।

विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाउनुभएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी हुनुभयो । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति हुनुभयो ।

विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गर्नुभएका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वत्रन्त्र विद्यर्थी युनियनमा नेविसङ्घकातर्फबाट प्रतिस्पर्धामा उत्रनुभएको थियो । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिकारुपमा निर्वाचित हुनुभएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित हुनुभयो । विसं २०५३ मा नेविसङ्घको सभापति बन्नुभएका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गर्नुभएको थियो ।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद बन्नुभएको थियो । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुनुभएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गर्नुभएको हो । पार्टीको १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएका उहाँ १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी हुनुभयो ।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताउनुभएको छ । यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्मा यही विषयमा आवाज उठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

“विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो”, उहाँले भन्नुभयो, “मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु ।” निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएबमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उहाँले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर