उम्मेदवारी दर्ताको समय सार्न निर्वाचन आयोगलाई सरकारको पनि आग्रह



एनपि न्यूज डटनेट, ०२ असोज- आउँदो संविधानसभा चुनावका लागि उम्मेद्वारी दर्ताको समय केही दिन सार्न सरकारले पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मङ्सिर ४ को चुनावलाई भने कुनै प्रभाव नपर्ने गरी समानुपातिकको बन्दसूची पेश गर्ने र प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्ने समय सकेसम्म केही दिन पर सार्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।

हिजो मात्रै उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनका कार्यतालिकामा थोरै परिवर्तन गरी उम्मेद्वारी दर्ताको समय सार्न आग्रह गरेको थियो । आयोगले अहिले चुनावी कार्यतालिका परिवर्तन गर्दा मङ्सिर ४ गते चुनाव गर्न अप्ठेरो हुने बताएको छ । यससम्बन्धी औपचारिक धारणा भोलि मात्रै सार्वजनिक गर्ने आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिनुभएको छ । निर्वाचन कार्यतालिका परिमार्जन बारे छलफल गर्न आज आयुक्तहरूको बैठक बसेको थियो ।

यसैबीच आजै सरकार र निर्वाचन आयोगका पदाधिकारीहरूबीच पनि चुनावको तयारीका विषयमा छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा चुनावको सुरक्षा नीति र चुनौतीका विषयमा पनि छलफल भएको थियो । पूर्व निर्धारित कार्यक्रअनुसार समानुपातिकको उम्मेद्वारका लागि असोज ७ गते बन्दसूची पेश गर्नुपर्छ भने १० गते प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ताको समय तोकिएको छ ।

Comment