गायिका देबिका बन्दना र कुमार सानुको मन्त्रमुग्ध पार्ने आवाजमा सजिएको गीत तिम्रो मायाको सागर सार्वजनिक — OSNepal

गायिका देबिका बन्दना र कुमार सानुको मन्त्रमुग्ध पार्ने आवाजमा सजिएको गीत तिम्रो मायाको सागर सार्वजनिक

LC (KTM) December 22, 2022 0

नेपाली सांगितिक क्षेत्रमा सबैले सुन्दै आएको कर्णप्रीय आवाजकी धनी गायिका देविका बन्दना एक पटक फेरी दर्शक तथा आफ्ना स्रोता माझ मायाको सागरमा डुबाउन आएकी छिन् । उनी नयाँ यूगल गीतमार्फत आएकी हुन् । नेपाली चलचित्रमा आफ्नो आवाजलाई गुन्जाउन सफल यी गायिकाको गीत तिम्रो मायाको सागरमाको बिहिबार काठमाडौंमा प्रिमियर गरिएको छ ।

यस गीतको अर्काे रोचक र सुन्दर पक्ष भनेको बलिउडमा आफ्नो आवाजमा कैयौ चर्चित गीत गुनगुनाई सकेका प्रसिद्ध गायक कुमार सानुको स्वर रहेको छ । उनले बन्दनालाई साथ दिएका छन् । मन्त्रमुग्ध बनाउने मिठासपुर्ण यस गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने कलात्मक शब्दहरु सहितको रचना गीतकार सुरेन्द्र महर्जन ‘अमर’को रहेको छ ।

संगीत संयोजन राजु कार्कीको रहेको छ भने दीप तुलाधरले गीतको मास्टरिङ गर्ने काम गरेका छन् । यो गीत बेग्ला बेग्लै स्टुडियोमा रेकर्ड गरिएको छ । कुमार सानुको स्वर मुम्बईको कैलाशा स्टुडियोमा साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गराएका हुन् भने देविका बन्दनाको स्वर काठमाडौंको अकेष्टिक स्टुडियोमा गरिएको हो ।

दरबारमार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त अवसरमा गायिका संगीता राना प्रधान, अभिनेत्रीहरु शर्मिला मल्ल, वसन्धुरा भुसाल, निर्देशक मिलन चाम्स, गायक सचिन रौनियार, निर्देशक रोशन कुमार लगायतको उपस्थिती रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै गायीका बन्दनाले गीतलाई एकदमै धेरै मेहनत गरेर रोमान्टिक शैलीको बनाएको बताईन् । गीत रोमान्टिक भएकै कारण जोडी पनि रोमान्टिक नै खेलाइएको उनको भनाई छ । गीतको म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्स देख्न सकिन्छ ।

उक्त कार्यक्रममा यी रोमान्टिक जोडीको पनि उपस्थिती रहेको थियो । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् । गायिका देविका बन्दनाको यूट्युबबाट यो गीत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर