शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ — OSNepal

शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

LC (KTM) December 31, 2022 0

काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ ।मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताउनुभयो ।

उहाँले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताउनुभयो । “राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन”, उहाँले भन्नुभयो, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।”

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । “तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो”, उहाँले भन्नुभयो, “ऐन, नियमविपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु ।”

कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहनुभएका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताउनुभयो । उहाँले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर