कृषि प्रधान देशका लागि लज्जा, सिजनमा नै ५ अर्बको धान आयात — OSNepal

कृषि प्रधान देशका लागि लज्जा, सिजनमा नै ५ अर्बको धान आयात

LC (KTM) January 02, 2023 0

वीरगन्ज । धानको सिजनमा नै कृषि प्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ । सानो भूगोल भएर पनि प्रकृतिले अन्न उत्पादनको भण्डार सुम्पिएको मुलुक नेपालमा गएको २ महिना (१५ कात्तिकदेखि १५ पुससम्म)को अवधिमा त्यति धेरै मूल्यको धान आयात भएको हो । यस्तो वास्तविकता भए पनि यसले शासकलाई बिझाउने गरेको छैन । यो उनीहरूको गैरजिम्मेवारपनको नमुना हो ।

४ दशक पहिले अन्न निर्यात गर्ने कृषिप्रधान देशका किसानले अहिले भकारीमा धान भित्र्याउने समयमा व्यापारीले पो विदेशबाट गोदाममा धान चामल भित्रुयाइरहेको दुखद दृश्य देख्ने गरिन्छ । मुलुकको प्रतिष्ठामा आँच पुग्नेगरी धानको सिजनमा नै ४ अर्ब ९७ करोड ११ लाख २९ हजारको धान मुलुकको प्रमुख भन्सार नाकाबाट मात्र भित्रिएको तथ्यांकले पुष्टि गरेको छ ।

यो सब देश हाँक्ने अदूरदर्शी नेतृत्वको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । किसानको भकारीमा भन्दा पनि व्यापारीको गोदाममा सिजनमा नै ५ अर्ब जतिको धान आयात हुनु विडम्बना भएको स्थानीय शैलज अधिकारीले बताए । ‘मुलुक हाँक्ने व्यक्तिलाई लाज भइदिने हो भने कृषिप्रधान देशको यो अवस्था हुने थिएन,’ उनले भने ।

भारत सरकारले विगतमा लामो समयदेखि धानको निर्यात रोकेर राखेको थियो । तर, गएको १५ कात्तिकदेखि धान निर्यात खुला गरेसँगै नेपालका धान व्यापारी विदेशी धान आयातमा आकर्षित हुँदा वीरगन्ज भन्सार नाकाबाट मात्र चालू आर्थिक वर्षको १५ कात्तिकदेखि १५ पुससम्म १४ करोड २५ लाख ५३ हजार ८६ किलो भारतीय धान नेपाल छिरिसकेको छ । यही धानको मूल्य उक्त रुपैयाँ बराबर भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । नेपाली किसानले धान बेच्ने सिजनमा नै भारतले धान निर्यात खुला गरेपछि यहाँका किसानको धानभन्दा भारतीय धान खरिदमा नै व्यापारीको आकर्षण बढेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर