नेपाल भित्रिएको सबै अवैध सुन भारत पुग्छ : यसरी हुन्छ सेटिङ

Posted By OSNepal, California, USA || Date: 5 September, 2017

काठमाडौं : प्रत्येक पटक ठूलो परिणाममा सुन बरामत हुन्छ । तर, त्यो सुन कहाँ पुग्छ ?  धेरैको जिज्ञासा सुन तस्करीपछि यही हुन्छ । बारम्बार ठूलो परिणाममा अवैध सुन बरामद गर्दै आएको र अनुसन्धानबाट खुलेको तथ्यलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीका अधिकारीका अनुसार चीनबाट तस्करीको बाटो हुँदै नेपाल भित्रिएको सुन भारत पुग्ने गरेको छ ।

चिनियाँ नाकाबाट तस्करी गरेर ल्याइएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा बरामद गरिएको सुन महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार सार्वजनिक गरेपछि प्रहरीले यस्तो तथ्य सार्वजनिक गरेको हो । प्रहरीले गाडीमा लुकाइएको अवस्थामा बरामद गरेको झण्डै ८८ किलो सुनसँगै गाडी चालकलाई पनि पक्राउ परेका छन्।

संगठीत अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डिआईजी पुष्कर कार्की भन्छन्, ‘खाडी मुलुक र चीनबाट अवैध सुन नेपाल भित्रिन्छ। त्यहाँ सुन बाहिर लैजान कुनै प्रतिबन्ध छैन। भन्सार नतिरेर भित्र्याइने त्यस्तो सुन थोरै नेपालमा र बाँकी सबै भारतमा खपत हुन्छ।’

भारतले विदेशी मुद्राको खर्च कटौती गर्न सुनको आयातमा कडाइ गरेपछि भारतीयले सुन खरिद गरेर सञ्चित गर्न खोज्ने प्रवृति बढेकाले नेपाल हुँदै सुन तस्करी बढेको जानकारहरुको भनाइ छ।

सीमा नाकामा हुने फितलो जाँच र कमजोर अनुगमन प्रणालीका कारण पटक(पटक विभिन्न परिमाणमा अवैध सुन बरामद हुने गरेको अधिकारीहरु बताउँछन्। खाडी मुलुक र चीनबाट अवैध सुन नेपाल भित्रिन्छ। त्यहाँ सुन बाहिर लैजान कुनै प्रतिबन्ध छैन। भन्सार नतिरेर भित्र्याइने त्यस्तो सुन थोरै नेपालमा र बाँकी सबै भारतमा खपत हुने गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

खासगरी दुई ठूला मुलुकसँगको सिमानामा तस्करी नियन्त्रणका लागि चाहिने उपकरण, विज्ञ जनशक्ति र सूचना लिन गर्नुपर्ने लगानीको अभाव सुन तस्करीको मुख्य कारण भएको उनीहरुको भनाइ छ। अधिकारीहरुका अनुसार प्रहरी अनुसन्धानले नेपालबाट हुने अधिकांश सुन तस्करीमा भारतीयको लगानी रहने र सीमित मात्रामा नेपाली पनि संलग्न रहेको देखाउँछ।

नेपाल राष्ट्र ब्याङ्कले दैनिक १५ देखि २० किलो सुन, व्यवसायीलाई कोटा प्रणालीका आधारमा उपलब्ध गराउँदै आएको छ। दैनिक ३० केजी सम्म खपत भईरहेको र बढीमा ५० केजीसम्म खपत हुने महासंघले जनाएको छ।

विगतमा बरामद भएका ठूला परिमाणका सुन र त्यसमा रहेको भनिएको संलग्नताबारे जानकारहरु पछिल्लो ८८ किलो सुन तस्करीमा पनि उच्च तहको मिलेमतो रहेको लख काट्छन्। गत वर्ष ३३ किलो सुन बरामद हुँदा पनि ठूलै सञ्जाल सक्रिय रहेको र त्यसमा उच्च तहको संलग्नता रहेको चर्चा भएको थियो।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!