घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान — OSNepal

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

LC (KTM) January 27, 2023 0

देउखुरी, १३ माघ- घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुनुहुन्छ । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पाल्नुभएको छ । घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ ।

पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उहाँ बताउनुहुन्छ । हरियो हँुदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेमा बिक्री गर्न पाइने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गाईवस्तुका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ ।” गत वर्ष रु एक लाखको वरसिम घाँस बेचेको उहाँले बताउनुभयो ।

घोराही–१७ कर्जाहीका अनिल चौधरीले दुईवटा दुहुना भैँसी र आठवटा बाख्रा पाल्नुभएको छ । उहाँको मुख्य पेसा कृषि नै हो । उहाँले पनि घर नजिकैको १३ कट्ठा खेतमा वरसिम घाँस लगाउनुभएको छ । आफैँले बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गत वर्ष रु ७० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ ।” गँहु र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसान घाँस खेतीमा आकर्षण बढेको छ ।

यसैगरी घोराही–७ का रुपक बुढाले पनि १३ कट्ठा खेतमा वरसिम घाँस खेती गर्नुभएको छ । वरसिम घाँँस एक याममा पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेडा, बाख्रा र कुखुरालाई समेत यो घाँसले फाइदा पु¥याउँछ । उहाँले पनि गत वर्ष रु ९० हजारको घाँस बिक्री गर्नुभएको थियो ।

किसानले आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने गरेको भए पनि दाङका किसानले घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकहरुले व्यावसायिक रुपमा वरसिम घाँस खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–५, ६, ७ र १७ का किसान प्छिल्लो समयमा घाँस खेतीतर्फ आकर्षित बनेका छन् ।

धान खेतीपछि वरसिम घाँस खेती गर्ने गरिन्छ । वरसिम घाँस एक वर्षीय हिउँदे कोसे घाँसबाली हो । यसलाई भुइँघाँस पनि भन्ने गरिन्छ । यो घाँस दूध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ । बर्सातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराही–६ का कृषकले १० कट्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् ।

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ । दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ को गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाँउ, वेरगै, फचकपुर र अघरा घोराही–१७ को गैरागाउँका किसानहरुले वरसिम घाँस खेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार जिल्लामा अहिले एक हजार दुई सय हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । गत वर्ष सङ्घले ३५ लाखको घाँस बिक्री गरेको थियो । यस वर्ष वरसिम घाँसको बीउ करिब ७० लाखको बिक्री हुने अनुमान गरिएको छ ।

घोराही–६ मा २०५६ सालदेखि नै व्यावसायिक रुपमा घाँस खेती सुरु भएको थियो । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउ बिक्रीका लागि शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घको कृषि सहकारी स्थापना भएको हो । प्रतिकट्ठा ३० देखि ३५ केजीसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाले तीन सय ३९ किसानलाई दुई हजार तीन सय ४८ किलो वरसिम घाँस ५० प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखाप्रमुख खिमबहादुर बस्नेतले बताउनुभयो ।

हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुन महिनामा काटेर गाईभँैसीलाई खुवाउन सजिलो हुन्छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, पाल्पा, बाँके, बर्दिया, प्यूठान, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, कास्की, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बिक्री हुने गरेको बताइएको छ ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । सङ्घले ग्रेडिङ गरेर प्रतिकिलो एक सय ६५ देखि दुई सय २० सम्ममा बिक्री गर्ने गरेको छ । वरसिम घाँसलाई घाँसको राजाका रुपमा पनि लिने गरिन्छ । यो घाँस गाई, भैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्दछन् । जिल्लामा गाई, भैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरुले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भट्टले बताउनुभयो । घाँस खेती गरेका किसानले हरियो घाँस, फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् ।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गराउने उद्देश्यले अनुदानमा घाँसको बीउ वितरण गरेको लमही नगरपलिकाका प्रमुख जोगराज चौधरीले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएको बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छाँै,” उहाँले भन्नुभयो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर