नेपालमा भारुको भाउ घट्नुको कारण के ? — OSNepal

नेपालमा भारुको भाउ घट्नुको कारण के ?

LC (KTM) January 28, 2023 0

नेपालका सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको सस्तोमा कारोबार हुन थाल्नुले नेपालमा ‘अनौपचारिक अर्थतन्त्र’को थप विस्तार भएको सङ्केत गर्ने अर्थशास्त्रीहरूले बताएका छन्।

उनीहरूका बुझाइमा सामान्य रूपमा हेर्दा यसले भारतीय रुपैयाँको तुलनामा नेपाली मुद्रा बलियो बनेको जस्तो देखिए पनि त्यसले नेपाली अर्थतन्त्रलाई “फाइदा भन्दा बेफाइदा नै बढी” हुनसक्छ।

सीमा क्षेत्रमा ‘वित्तीय संयन्त्रबाहिर हुने अनौपचारिक’ कारोबारमा अहिले प्रति १०० रुपैयाँ भारुमा कम्तीमा पाँच रुपैयाँसम्म कमी आएको त्यस क्षेत्रका व्यवसायी र स्थानीयवासी बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले चाहिँ “अहिले देखिएको प्रवृत्ति अल्पकालीन भएको हुनसक्ने” र त्यसले नेपाली अर्थतन्त्रमा “खासै ठूलो फरक नपार्ने” हुनसक्ने बताए।

कतिमा भइरहेको छ कारोबार?
नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर रहँदै आएको छ अर्थात् नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन।

तर करिब एक महिनादेखि सीमावर्ती क्षेत्रमा नेपालीहरूले “अनौपचारिक माध्यम”मा प्रति १०० रुपैयाँ भारु १५५ रुपैयाँसम्ममै पाउन थालेको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन्।

त्यस्तै भारतीय सीमावर्ती बजारका व्यापारीहरूले पनि अहिले नेरुको तुलनामा भारु सस्तिएको बताएका छन्।

वीरगन्ज पारीको भारतीय सीमावर्ती बजार रक्सौलका एक जना व्यवसायी लव कुमारले भने, “पहिले नेरुको तुलनामा भारु महँगो थियो १६० मा किन्नुपर्ने भारु किन्न १६२/६३ पनि तिर्नुपर्थ्यो तर अहिले करिब एक महिनादेखि १५५ मा कारोबार भइरहेको छ।”

“यसले हामीलाई त घाटा छ किनभने हामीले भारुमा सामान किन्नुपर्छ नेपाली रुपैयाँको तुलनामा भारु कमजोर हुँदा हामीलाई फाइदा हुँदैन।”

सीमा जागरण मञ्च विहार राज्यका संयोजक महेशकुमार अग्रवालका भनाइमा सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय दुवै पक्षले ब्याङ्कका माध्यमबाट भन्दा पनि “अनौपचारिक माध्यमबाट” नै मुद्राको सटही गर्दै आएका छन्।

१. हुन्डीबाट रेमिट्यान्स भारत हुँदै नेपाल भित्रिएको सम्भावना
बीबीसीसँग कुराकानी गरेका सीमा क्षेत्रका केही नेपाली व्यवसायीले नेपाल भित्रिने रेमिट्यान्सको कारोबार हुन्डीबाट हुँदा त्यसको प्रभाव भारुको अवमूल्यनका रूपमा देखा परेको बताए।

उनीहरूका भनाइमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पहिले हुन्डीमार्फत सिधै नेपालमा रकम पठाउने गर्थे।

तर पछिल्ला दिनहरूमा भारतीयहरूले नेपाली हुन्डी कारोबारीका तुलनामा डलरको सटही दर केही बढी दिएर नेपाली कामदारको रकमसमेत भारतमा भित्र्याउन थालेका छन्।

“अरबतिर नेपाली मात्र होइन भारतीय कामदारहरू पनि धेरै छन् त्यो पनि यूपी बिहारका धेरै हुन्छन्,” विराटनगरका एक जना व्यापारीले भने, “त्यसरी बल्कमा रकम उठाउँदा भारतीयहरूले नेपाली कामदारलाई डलरको केही सस्तो दर दिन सक्छन्।”

“त्यस्तो अवस्थामा नेपालीको रकम पनि पहिले भारतमा आउँछ, त्यो भारुका माध्यमबाट खुला सीमा भएकाले नेपाल भित्रिन्छ। नेपालमा भारुको आपूर्ति बढी भएपछि त्यो सस्तो हुने नै भयो।”

त्यसरी नेपाल आएको भारु ब्याङ्कको संयन्त्रबाट साट्न सजिलो नहुने भएकाले पनि मानिसहरूले केही सस्तोमा भारु बेच्ने गरेको उनको आशङ्का छ।

यद्यपि त्यसलाई पुष्टि गर्ने कुनै घटना वा आधार आफूले दिन नसक्ने तर केही व्यक्तिहरूले त्यसबारे आफूलाई सुनाएको उनको भनाइ छ।

२. अवैध कारोबार वृद्धिको आशङ्का
जानकारहरूका भनाइमा भारतीय मुद्राको भाउ घट्नुमा अवैध कारोबार एउटा बलियो कारण हुनसक्छ।नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पनि त्यस्तै सङ्केत गरे।

उनले भने, “हाम्रो व्यापार घाटा भारतसँग जहिले पनि उच्च छ तर अहिले अलिकति घटेको छ। त्यसले गर्दा भारुको माग कम भएको छ। तर त्यसैले मात्र यस्तो नभएको पनि हुनसक्छ।”

उनले नेपालबाट भारतमा सुन तथा अन्य विभिन्न वस्तुको तस्करी भएका कारण पनि भारुको मूल्य कम भएको हुनसक्छ।

उनले भने, “अब त कपडामा टाँसेर, तरल र धुलो बनेर पनि सुन आउन थालेको सुनिन्छ। त्यो भारत गएर भारतीय रकममा भुक्तानी भएको हुनसक्छ। तस्करी बढेको हुनसक्ने देखिन्छ।”

“तर यस्तो भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ। त्यसलाई पुष्टि नै गर्न त गाह्रो छ।”खनाल पनि नेपाली बजारमा जसरी “फालाफाल” सुन रहेको छ त्यसले उक्त कुरालाई सङ्केत गर्ने बताउँछन्। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर