यस्तो छ हिउँदमा लोडसेडिङ हुन नदिने कुलमानको योजना

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याबाहेक आउँदो हिउँदमा लोडसेडिङ नहुने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगामी तीनवर्षमा मुलुक विजुलीमा आत्मनिर्भर हुने समेत उल्लेख गरे। उनले लोडसेडिङ अन्त्यका लागि व्यवस्थापनमा मुख्य ध्यान दिइएको पनि बताए। उनले देशभर नै लोडसेडिङ नरहेको उल्लेख गर्दै दीर्घकालीन रुपमा लोडसेडिङ समाप्त पार्न छुट्टै कार्ययोजनामा प्राधिकरणले काम गरिरहेकोसमेत बताए।

अहिले मुलुकभर दैनिक १२ सयदेखि १४ सय मेगावाटसम्म बिजुली माग रहेको छ। विद्युत् माग दैनिक तलरमाथि भइरहने प्राधिकरणका अधिकारीहरु बताउँछन्। प्राधिकरणले आफ्नै आयोजनाका उत्पादन, निजी क्षेत्रका विद्युत् गृह र भारतबाट आयात गरी विजुली आपुर्ती गर्दै आएको छ।

प्राधिकरणको रेकर्ड अनुसार मंगलबार देशभर १३ सय २३ मेगावाट विद्युत माग रहेको थियो। प्राधिकरणका सूचना अधिकारी भरत खड्काका अनुसार मंगलबार प्राधिकरणका आयोजनाबाट ३ सय ४३, निजी क्षेत्रको ३ सय ३८ र भारतबाट ३ सय ३० मेगावाट आयत गरिएको थियो भने ३ सय १२ मेगावाट अपुग थियो। त्यसलाई व्यवस्थापन गरिएको उनले बताए।

अगामी हिउँदका लागि २७ मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादनले लोडसेडिङ हुन नदिन सहयोग पुग्ने विश्वास प्राधिकरणको छ। कार्यकारी निर्देशक घिसिङले चमेलिया आयोजनाको करिब ९९ प्रतिशत काम सकिसकेकाले दसैंसम्ममा उत्पादन सुरु हुने बताइएको छ। त्यस्तै, निजी क्षेत्रबाट पनि २र३ मेगावाटका आयोजना उत्पादनमा आउने छन्।

प्राधिकरणको अवको हिउँदमा लोडसेडिङ हुन नदिने भरपर्दो स्रोत भारतबाट हुने थप आयात पनि हो। दुई अन्तरदेशीय प्रसारण लाइन रक्सौल-परवानीपुर र कुसाहा-कटैयाबाट ५०/५० मेगावाट विद्युत् आयात गर्ने बाटो खुलिसकेको छ। भदौ पहिलो साता भारतको हैदरवाद हाउसबाट सय मेगावाट विद्युत् ल्याउने अन्तरदेशीय प्रसारण लाइनको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!