महुरे–राजापानी सडक कालोपत्रेमा भएको ढिलासुस्तीका विषयमा जिल्ला समन्वय समितिको ध्यानाकर्षण — OSNepal

महुरे–राजापानी सडक कालोपत्रेमा भएको ढिलासुस्तीका विषयमा जिल्ला समन्वय समितिको ध्यानाकर्षण

LC (KTM) February 04, 2023 0

खोटाङ, २१ माघ -जिल्ला समन्वय समिति खोटाङको टोलीले महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काममा भएको ढिलासुस्तीका विषयमा अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, शैक्षिक अभियान्ता सुर्यबहादुर राई लगायतको टोलीले भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीको ढिलासुस्तीका कारण अलपत्र परेको महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड अनुगमन गरेको हो । भारत कन्ट्रक्सन/सिद्धी शाहीले निर्माणस्थलबाट क्रसर र अन्य मेसिन उठाएर अन्यत्र लगेपछि जिल्ला समन्वय समितिको ध्यानाकर्षण भएको हो ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो ।

जिल्ला समन्वय समितिको टोलीले बुईपामा निर्माणाधिन एलम्बर पार्क र उपयोग विहिन बनेको कोल्ड स्टोर (चिस्यान केन्द्र) निरिक्षण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर