नेपालमा कहिले सम्म गुण्डाहरुलाई राजनितिक संरक्षण मिल्ने होला ?

Posted By OSNepal, California, USA || Date: 10 October, 2017

– प्रकाश श्रेष्ठ  

भनिन्छ राजनितीमा सबै कुरा जायज हुन्छ र यो सबै खाले संभावनाको खेल पनि हो अर्थात् राजनितीमा सबै विकल्पको संभावना रहन्छ । यसै भएर होला नेपालमा विगतमा ” कुकर र बिरालो ” झै आपसमा लडिरहेका राजनितिक दलहरु पनि समय समयमा एउटै खालमा वा जोतारोमा नारिन आउँछन् । अझै यसपाली त स्थापनाकाल देखि नै टुट र फुट अव्यस्त हुन रुचाउने दश तिर मुख फर्काएका बाम घटकहरु एकसाथ जोडिने क्रम जारी रहेको छ । जस मध्ये मुख्य राजनितिक शक्तीको दावेदार तीन वटा राजनितीक दल एउटै पार्टी ” नेपाल कम्युनिस्ट पार्टी ” बनाउने प्रकृयामा अगाडी बढ्ने निधो गरिकन सहमतीपत्रमा हस्ताक्षर गरिसकेर औपचारिक घोषणा समेत गरेका छन् । अर्को तर्फ सधै प्रजातन्त्र र लोकतन्त्रको रटान दिदै आएको पार्टीले पनि राजावादी देखि मधेसवादी दलहरुलाई ” वृहत लोकतान्त्रिक मोर्चा ” बनाएर आउँदै गरेको संघ र प्रदेशसभाको चुनावमा अघि बढ्ने घोषणा गर्दै हिडेको छ ।
यसरी हेर्दा, अव मेटामोटी रुपमा नेपालमा राजनितिक दलहरु वीच ध्रुविकरणको शुरुवात भएको हो की भन्ने पनि आशंका गर्न सकिन्छ र वास्तवमा धेरै दलहरु हुनु भन्दा साझा र मोटामोटी लक्ष्य वा गन्तव्य मिल्नेहरु एकआपसमा मिलेर जानु विभिन्न दृष्टिकोणबाट उपयुक्त नै हुन्छ । धेरै दल र धेरै नेता हुँदा देश सधै अनिर्णयको बन्दी बनिरहेको जटिल परिस्थितिलाई चिर्न यो आवस्यक पनि ठानिन्छ । यद्दपी आउने समयले समग्र अवस्थाको चित्रण गर्ला ।

सामान्य नागरिकको अभिलाषा र मान्यता के हुन्छ भने राजनितिक दलले देशमा लोककल्याणकारी सुशासन संचालन गरुन, जनतालाई ढुक्क र निर्वाधरुपमा काम गरेर, व्यवसाय वा पेशा संचालन गरेर वैयक्तिक स्वतन्त्रताको उपयोग गर्दै शान्ती एवं सुरक्षाको पुर्ण प्रत्याभुति महशुष गर्न सकियोस्, आर्थिक समानता कायम हुन तर्फ राज्यको ध्यान जाओस्, न्यायसंगत व्यवहार राज्यले गरोस्, सार्वभौमसत्ता जनतामा निहित होस्, जनउत्तरदायी सरकार र स्वतन्त्र न्यायालय होस्, कानुनको अधिनमा सबै रहुन्, कानुन भन्दा माथी कुनै व्यक्ती वा निकाय नहोस् साथै रोग, भोक, शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा जनता बेसहारा बन्न नपरोस् आदी नै प्रमुख हुने गर्दछ । यसैको लागी जनताले आफुलाई विश्वास लाग्ने दललाई समर्थन गर्दै मतदान गर्छन् र विभिन्न तवरबाट आवाज उठाउँछन् । यद्दपी विगत देखि अहिले सम्म विभिन्न राजनितिक दलहरुको चरित्र र व्यवहारलाई शुक्ष्मरुपमा विश्लेषण गर्ने हो भने यिनीहरु कतै न कतै जनतालाई भन्दा पनि आफ्नो स्वार्थलाई “प्रधान” मानेर अगाडी बढेको देखिन्छ । अझै उदेग लाग्दो कुरा त के छ भने समाज, समुदाय र राज्यलाई नै आतंकित पार्ने “गुण्डा नाईके” हरुलाई आ-आफ्नो राजनितिक दलमा भित्राउन, बिल्ला भिराउन, सरकारी ठेक्का पट्टा दिलाउन रातदिन नभनि लागिपरेका छन् ।
धेरै टाढा नजाउ मात्र विगत दुई तिन बर्षको अन्तराललाई मध्यनजर राख्ने हो भने दिनेश अधिकारी ” चरी” र कुमार लामा ” घैटे” नामका खुनखार गुण्डा/डन नाईकेहरु फरक फरक समयमा सरकारी दावा अनुसार प्रहरीको मुठभेडमा मारिए । यी दुवै गुण्डाराजाहरु मारिदा दुवैलाई अलग अलग संरक्षण गर्ने राजनितिक दलले संसद/सदन र सडकमा हल्लीखल्ली मच्चाए, मानवाधिकार आयोगमा समेत न्यायको लागी अपिल गरे । ” चरी” मारिदा एमाले पार्टीका केही नेताहरुको ओठमा मुस्कान हरायो र झण्डै पागल भएनन् भने अर्को तर्फ ” घैटे” मारिदा नेपाली काँग्रेसका केही ठेकेदार नेता र केही युवा नेताहरु समेत दिउँसै बरबराए अनि धेरै समय पछि दिमाग संहाले तर पागल हुन भने सकेनन् । त्यतिबेला के, किन, कुन स्वार्थ नमिलेर आफ्नै दलको निर्देशन पालन गर्ने नेता डन चरी र अर्को दलको संरक्षण पाएको घैटे मारिए वा मार्न लगाईयो त्यसबारे त्यही बेलाका गृहमन्त्री ” वामदेव गौतम” नै जानुन् ।
अहिले आएर पनि गुण्डा पाल्ने, परिचालन गर्ने, पार्टीमा भित्राउने, चुनावमा टिकट दिने प्रचलनमा कुनै कमि छैन । व्यापारी , उद्योगपतिबाट ” हप्ता अशुल्न ” लगाउने क्रम जारी नै छ । अझै यिनै गुण्डाको आडमा चुनाव जितेर मन्त्री बन्नेहरुको पनि कमि छैन । यसो त कुनै राजनितिक दल पनि गुण्डाको छायाँबाट भाग्न सकेको पाईदैन जतततै बिहारी शैलीमै चुनाव गराउन दलहरुले आ-आफ्ना मातहतका गुण्डाहरुको च्यानल प्रयोग गर्ने गरेको नौलो हैन । हिजो पंचायतकालमा यस्तै गुण्डाहरुको राज थियो र अहिले राजनितिक व्यवस्थाले नेताकै भाषामा भन्दा ” छलांग ” मार्दा समेत उस्तै छ भन्दा पनि अझै बढि छ ।

हुँदाहुँदै वृहत बामपन्थी एकता गरेर एउटै कम्युनिस्ट पार्टी बनाएर देशमा जनकल्याणकारी समाजवादको लक्ष्य प्राप्ति गर्ने भनेर उद्घोष गर्दै एमाले पार्टी बाहेक अरु पार्टी बेकामका छन् भन्दै जनजिब्रोमा अव्यस्त भईरहेका उखान टुक्का गर्दै जनताको मत जित्न सफल हुँदै गएका अधिकांशले राष्ट्रवादीको पगरी गुथाएका नेता, एमालेका अध्यक्ष एवं भुपु प्रधानमंत्री” केपी ओली ” ले हालै भुषण दाहालले संचालन गरेको कान्तिपुर टेलिभिजनको ” फायर साईड ” भन्ने कार्यक्रममा सोधिएको एक प्रश्न जसमा भुषणले ” दिपक मनाङे र डीआईजी नवराज सिलवाल” को एमाले पार्टी प्रवेश बारे चासो राख्दा अत्यान्त घुमाउरो पारामा एमालेमा सबै किसिमका व्यक्ती र सर्वसाधरणको लागी खुल्ला भएको पार्टी रहेको बताउँदै गुण्डागर्दी गर्नेलाई पार्टीमा कुनै खाले स्थान नदिईने कुरालाई ईन्कार गर्न सकेनन् ।

यसको अर्थ औपचारिक वा अनौपचारिक रुपमा राजनितीक दलले गुण्डा, डनहरुलाई संरक्षण गर्दै आएको र उनीहरुलाई आ-आफ्नो पार्टीमा प्रवेश गराई सदस्यता दिन, टिकट दिन प्रतिस्पर्धामा लागेको स्पस्ट संकेत गर्दछ । कम्तीमा राष्ट्रीय टेलिभिजनमा प्रसारित अन्तरवार्तामा समेत गुण्डा र डन शैलीको व्यक्तीबाट पार्टीलाई टाढा राख्ने कुरा बोल्ने हिम्मत समेत नगर्नु दुखद कुरा हो ।

यसले पनि के देखाउँछ भने यस्ता समाजमा जगन्य अपराध गर्ने अपराधीहरुनै राजनितिक दलका संरक्षणमा छन् । जव सम्म यस्ता अपराधीको संरक्षण हुँदै जान्छ जतिसुकै शान्ती, सुरक्षा, अमनचयन र नागरिकको ज्युज्यानको सुरक्षा भने पनि सबै एकादेशको कथा मात्रै हुनेछ ।

भर्खरै मात्र दिनदाहडै काठमाण्डूमा” नेपाल निर्माण व्यवसायी महासंघ” का अध्यक्ष शरद कुमार गौचनको गोली हानेर हत्या भएको छ । यस्ता घटना कुनै पनि बेला हुनसक्ने देखिन्छ । हुनत सयौ बर्ष विरासत जमाएर राजसंस्था चलाउनेहरुलाई नै ध्वस्त पार्ने मुलुकमा कसको, कतिबेला, कसरी यहलिला समाप्त हुन्छ थाहाँ हुँदैन । जनप्रिय नेता मदन भण्डारी र आश्रितको हत्या बारे त चुपलागेर बस्ने नेताहरुको बारे बोलेर किन अछुतो हुने हो ।

जे होस्, गुण्डा र अपराधीहरुलाई कुनै पनि राजनैतिक दलले पार्टीको साधारण सदस्य समेत दिनु हुँदैन र संरक्षण त झनै गर्नै हुँदैन । यसमा सबै राजनितिक दलको ध्यान जानु आवस्यक छ र राजनितिक दलका बफदार कार्यकर्ताले समेत आफ्ना नेताहरुको यस्ता गलत प्रवृत्तीको विरुद्ध आवाज उठाउनु जरुरी छ न की फलानो पार्टीमा पनि छन् हाम्रोमा मात्र हैन भनेर सामाजिक संजालमा कुर्लीने काम गर्नु कुनै पनि हालतमा राम्रो हैन ।

अन्तमा विकशित देशहरुका नेताहरुबाट पनि नेपाली नेताहरुले पाठ सिकुन् की सार्वजनिक फोरममा बोल्दा कुनै पनि सांकेतिक भाषामा गुण्डा र अपराधीलाई संरक्षण दिने कुरा अभिव्यक्त नगरुन् र व्यवहार त त्यस्ता व्यक्तीलाई संरक्षण हैन न्यायिक कठाघरामा उभ्भाएर सजाय दिउन । त्यस्तै भ्रष्टचार आफु पनि नगरुन र गर्ने कुनै पनि तह एवं तप्कालाई राजनितिक संरक्षण नदिउन् !

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!