बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

बैतडी, २६ असोज । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् ।

परम्परा रोक्न गाउँले नै पुगे प्रशासन

अहिले आएर स्थानीयस्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द वा परिमार्जन गर्न माग गरेका छन् । स्थानीयले यो परम्परा बन्द गर्न माग गर्दै मंगलबार विभिन्न सरोकार भएकालाई ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई ज्ञापनपत्र बुझाइएको हो । यो परम्पराले समाजमा गरिब र दलित समुदायमाथि आर्थिक भार परेको, लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले यसलाई रोक्न माग गरेका हुन् ।

छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खसी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्टले बताउनुभयो । “छोरी भए दुःख्मनाउ गर्ने तर छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जनभन्दा बढी खसी काटिन्छन्”– उहाँले भन्नुभयो, “यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।”

अचम्मको कुरा के भने, दलित परिवारमा पनि पहिलो सन्तान भए हरेक वर्ष तिहारको औँसीमा खसी काट्नुपर्छ । तर, त्यो खसी दलित समुदायलाई होइन, गैरदलितले मात्रै बाँडेर खाने चलन छ । यसले जातीय विभेद पनि बढाएको ज्ञापनपत्रमा उल्लेख छ । “यो परम्पराले समाजमा द्वन्द्व हुने र जातीय विभेदलाई बढावा दिएको छ”– स्थानीय भीम भट्टले भन्नुभयो ।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!