‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन काठमाडौँ महानगरपालिकाको आग्रह — OSNepal

‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन काठमाडौँ महानगरपालिकाको आग्रह

LC (KTM) March 11, 2023 0

काठमाडौँ-काठमाडौँ महानगरपालिकाको आयोजनामा हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि निमन्त्रणापत्र प्राप्त नभए कामपा उपप्रमुखको सचिवालयमा सम्पर्क गर्न देशभरका स्थानीय तहलाई आग्रह गरिएको छ ।

कामपा उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले यसअघि नै देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको र पत्र प्राप्त नभएको भए सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको हो ।

सम्मेलनलाई थप प्रभावकारी बनाउन नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घमार्फत पनि निमन्त्रणा पठाएका छौँ । उपप्रमुख डङ्गोलले भन्नुभयो, “हामी सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा उहाँ उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउन चाहन्छौँ । यसैअनुसार पत्राचार पनि भइसकेको छ । कुनै पालिकामा हाम्रो निमन्त्रणा प्राप्त हुन नसकेको भए हाम्रो सचिवालयमा सम्पर्क राखेर पत्र प्राप्त हुने माध्यम उपलब्ध गराइदिन अनुरोध गरेका छौँ ।”

आगामी चैत १५ र १६ गते दुई दिन न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारीस्वरुप सबै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको हो । कामपाले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो ।

सबै स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सम्मेलनमा सबै पालिकालाई इमेलमार्फत निमन्त्रणापत्र पठाएको उपप्रमुख डङ्गोलले जानकरी दिनुभयो । पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्यमध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ ।

सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय सञ्जाल निर्माण गर्ने योजना छ । सम्मेलन विषेशगरी चार विषयमा केन्द्रित रहने छ ।

गत १० महिनामा कामपाले न्यायिक समितिमार्फत गरेको असल अभ्यासका बारेमा सम्मेलनमा जानकारी दिने तयारी पनि गरेको छ । सम्मेलनमा मुलुकभरिका पालिका र अन्य व्यक्तिसहित एक हजार जना सहभागी रहने अपेक्षा कामपाको छ । संवैधानिक व्यवस्थाअनुरुप नै गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर