म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण — OSNepal

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण

LC (KTM) April 10, 2023 0

म्याग्दी-म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।

विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गर्नुभयो ।

मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । भुरा नवलपरासीबाट खरिद गरिएको हो । व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन । जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर