फिलिपिन्सका राष्ट्रपतिले ट्रम्पका लागि गाए प्रेमगीत

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

काठमाडौं – फिलिपिन्स अमेरिकाको पूर्वउपनिवेश हो । दुई देश दोस्रो विश्वयुद्धदेखिका सहयात्री नै हुन् । तर, रोड्रिगो डुटेर्टे फिलिपिन्समा राष्ट्रपति बनेपछि अमेरिकाप्रति पूर्णतया नरम भने देखिएका छैनन् । बरु, पछिल्लो समय उनका अमेरिकाविरोधी अभिव्यक्ति चर्चामा छन् । रसिया र चीनसँग सम्बन्ध विस्तारमा लागेको उनका गतिविधिले दर्शाउँछ । यही कारण फिलिपिन्स र अमेरिका सम्बन्ध चिसिएको बताइन्छ ।

यो परिस्थितिमा दक्षिण एसियाली राष्ट्रहरूको भ्रमणमा निस्किएका ट्रम्प भने दक्षिण कोरिया, चीन हुँदै फिलिपिन्स पुगेका छन् । आइतबार उनी एसियन सम्मेलनको ५०औँ वार्षिकोत्सवको अवसरमा मनिलामा आयोजित डिनरमा सहभागी पनि भए । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नरम प्रस्तुति दिएर फिलिपिन्स झरेका ट्रम्पले डुटेर्टेसँग रमाइलो माहोल बनाएर मन माझ्ने ‘ट्रिक’ लगाए । नयाँ पत्रिकाले छापेको छ ।

डिनरका दौरान ट्रम्पले समकक्षी डुटेर्टेलाई एउटा गीत गाउन अनुरोध गरे । सायद, यो परिस्थिति पैदा होला भन्ने डुटेर्टेले सोचेका पनि थिएनन् । ट्रम्पको आग्रहपछि डुटेर्टे गीत गाउन तयार भए । उनले फिलिपिन्सकै पप गायिका पिलिटा कोरालेसको साथ मागे र ‘इकअ’ अर्थात् तिमी बोलको प्रेमगीत गाए । गीतको एउटा हरफमा भनिएको छ, ‘तिमी मेरो संसारको उज्यालो, मेरो मुटुको टुक्रा ।’ डिनरमा डुटेर्टेसहित एसियाका १९ नेता उपस्थित थिए । गीत गाएपछि डुटेर्टेले उपस्थितमाझ छोटो सम्बोधन गरे, ‘महिला तथा सज्जनवृन्द ! मैले अमेरिकाका कमान्डर इन चिफको आग्रहमा गीत गाएँ ।’ डुटेर्टे जनताको हितलाई लिएर कठोर नेताका रूपमा चर्चित छन् । उनले फिलिपिन्सको नेतृत्व सम्हालेपछि हजारौँ लागुऔषध तस्करलाई मारिदिएका छन् । उनको व्यवहारलाई लिएर डुटेर्टेलाई ‘पूर्वका ट्रम्प’को संज्ञा पनि दिइन्छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!