पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की — OSNepal

पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

LC (KTM) April 16, 2023 0

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उहाँले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आजका स्वस्थ्य केटाकेटी मुलुकका भोलिका कर्णधार भएकाले उनीहरूमार्फत समाज र राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राख्नुभयो ।

मुलुक विकासोन्मुख भएकाले यसको प्राथमिकता सडक, पुल भए पनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशील भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले यस क्षेत्रमा कोरोना सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरूमा आवश्यक सतर्कता अपनाउन प्रदेश सरकार र महानगरपालिकालले संयुक्त रूपमा एन्टिजेन र पिसिआर परीक्षणको व्यवस्थाको तयारीको व्यवस्थ सुरु गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पूर्ण खोप सान्दर्भिक र आवश्यक भएको चर्चा यसले अन्य पालिकालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले खोपको अभिलेख नगर र वडामा राख्नु पर्नेमा जोड दिँदै यो कार्यको निरन्तरता आवश्यक रहेको चर्चा गर्नुभयो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चिततामा स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो ।

सभामा उपप्रमुख शिल्पा निराला कार्की, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले खोप सेवा प्राप्त गर्नु बालबालिका र नागरिकको नैसर्गिक अधिकारी भएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले महानगरप्रमुख कोइराला एवं १९ वडा अध्यक्षहरूलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिनुभयो । उहाँले खोप सुनिश्चतता प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गर्नुभएको थियो ।

महानगरपालिमा रहेका १६ देखि ५९ महिनाका १७ हजार पाँच सय दुई बालबालिकामध्ये खोप लगाउन छुट भएका एक हजार पाँच सय ९२ लाई पूर्ण खोप गरिसकेको र आगामी दिनमा कुनै बालबालिका खोपबाट वञ्चित नहुन ‘खोप सुनिश्चिता घोषणा’ गरिएको हो । महानगरले १३ वटा विभिन्न खोपहरु ३५ विभिन्न वडा कार्यालय, स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रुपमा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर