काँग्रेसको आडमा छाती ठोक्दै बोले बाबुराम, भने ‘केपी र ‘प्रचण्ड’ सच्चा कम्युनिष्ट नभई कम्युनिष्टको खोलमात्रै ओढेका पात्र हुन्’

Posted By OSNepal, California, USA || Date: 18 November, 2017

गोरखा : नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले आज गोरखाको पालुङटारमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं २ का उम्मेदवार डा बाबुराम भट्टराई, उद्योगपति विनोद चौधरी, काँग्रेसका केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिका नेता देवी ओझा, करिष्मा मानन्धर, ज्ञानेन्द्र कुमाललगायतले सम्बोधन गर्नुभएको थियो ।

चरम अवसरवादका लागि वाम गठबन्धन ः पौडेल

सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले चरम अवसरवादका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर गठबन्धन बनाएको आरोप लगाउनुभयो । एमाले नेतृत्वले राष्ट्रवादको नारा लगाए पनि काम भने राष्ट्र विखण्डन हुने खालको गर्दै आएको पौडेलको भनाइ थियो । पौडेलले भन्नुभयो, “नेपाली काँग्रेस राष्ट्रवादी पार्टी हो । एमाले होइन ।” काँग्रेस नेतृत्वमा शान्ति र संविधान आएको भन्दै पौडेलले काँग्रेसकै नेतृत्वमा मुलुकमा समृद्धि ल्याउने दाबी गर्नुभयो ।

काँग्रेस वामपन्थी शक्ति हो ः डा भट्टराई
सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक एवं क्षेत्र नं २ का उम्मेदवार डा भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सच्चा कम्युनिष्ट नभई कम्युनिष्टको खोलमात्रै ओढेको आरोप लगाउनुभयो ।

कुनै हालतमा लोकतन्त्र गुम्न नदिने उहाँले बताउनुभयो । “एनसेल, बूढीगण्डकी जलविद्युत् आयोजनामा कमिसन खानेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ?,” डा भट्टराईले भन्नुभयो, “काँग्रेस वामपन्थी शक्ति हो । तर कम्युनिष्टले भनेजस्तो एकतन्त्रीय शासनको हामी खिलापमा छौँ ।”

पाँच वर्षमा परिवर्तन गरेर देखाउँछौँ ः कोइराला
काँग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक मुद्दाहरु करिब सकिएको बताउँदै अब बिकास र समृद्धिका मुद्दाहरु उठाउने बेला आएको बताउनुभयो । कोइरालाले भन्नुभयो – “अब ब्यवस्था परिवर्तन गर्ने खालका एजेण्डाहरु काम लाग्दैनन् । जनताको चाहना अनुसार देश संमृद्ध बनाउने, गाउँ र सहरको विकास गर्ने कार्यमा लाग्नुपर्छ ।”

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!