दाजुको सम्झनामा सन्देशको समर्पित

Posted By OSNepal, California, USA || Date: 18 November, 2017

 इलामे गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, मोडल दिक्पाल कार्की, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईलगायतले एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा सदस्य सचिव रसिकले पछिल्लो समयमा संगीत क्षेत्रमा युवापुस्ताको आगमन सुखद बनिरहेको बताए । ‘संगीत क्षेत्रमा युवा पुस्ता आउनु हाम्रा लागि खुशीको कुरा हो । हाम्रो समयमा गीत गाउनु नै ठूलो कुरा हुन्थ्यो । एल्बम निकाल्नु गौण थियो,’उनले भने,‘गीत गाउनु र संगीत भर्नु भन्दा त्यो गीतका लागि शब्द कोर्नु झन महत्वपूर्ण कुरा हो । आशा छ सन्देशले राम्रा शब्द संगीत पारखीलाई दिएका छन् ।’

एल्बमका संगीतकार तथा एल्बम उत्पादक परी सिने संगीतका भुवनले निकै लामो मेहनतपछि सन्देशले एल्बम ल्याएको जानकारी दिए । ‘एल्बममा नाम चलेका गायकगायिकाको स्वर छ । त्यसकारण पनि एल्बम निकाल्न उनले मेहनत गरेको प्रष्ट देखिन्छ ।’ उनले भने ।

गीतकार सन्देशले झापाको बिर्तामोडमा सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना दाजु प्रति एल्बम समर्पित गरेको खुलाए । ‘मैले १२ वर्षको उमेरदेखि नै गीत लेख्न थालेको हुँ  । माया र प्रेमका गीत बढी लेख्थें । तर दाजुको दुर्घटनामा निधन भएपछि गम्भीर खालका गीत लेख्न थालें ।’ सन्देशले भने ।

एल्बममा ‘छाडीगएँ आमा तिमीलाई’, ‘आफ्नो ठानेर’, ‘अरु खै के मागुँ’, ‘कस्तो माया लाएनी’, ‘सकेछु भने जिन्दगी’, ‘जुनतारा साक्षी राखी’, ‘हिँडेकै छु भाग्य खोज्दै’, ‘कन्याम राम्रो’, ‘लजालु लजालु’ र ‘मरिसके सबै रहर’ बोलका गीत छन् ।

गीतमा भुवन सुप्तिहाङ राई, आलोकश्री, चित्रलाल शर्मा र किरण माइकलको संगीत छ भने कुमार कान्छा, राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यकला राई, नरेन्द्र प्यासी, मल्लिका कार्की, जगदीश समाल, भुवन सुप्तिहाङ राई र मिङ्मा शेर्पाको स्वर छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!