खजुरा गाउँपालिकाले फुसका छाना हटाएर जस्तापाता लगाउदै — OSNepal

खजुरा गाउँपालिकाले फुसका छाना हटाएर जस्तापाता लगाउदै

LC (KTM) April 25, 2023 0

बाँके-बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ । गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएकोे खजुरा गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका छाना हटाएर टिनको छाना लगाइने जानकारी दिनुभयो ।

“लाभग्राहीसँग सम्झौता सुरु भइसकेको छ, यसलाई वैशाख १४ गतेभित्र सक्ने गरी काम भएको छ”, उहाँले भन्नुभयो । एउटा घरका लागि रु ५० हजार बजेट छुट्टाइएको छ ।

यसका लागि गाउँपालिकाले केही समयअघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरेकोमा एक सय ५७ परिवारले आवेदन दिएका छन् । तर एक जनाको आवेदन विवादित भएकाले उहाँको विषयमा छानविन भइरहेको जनाइएको छ ।

खजुराले फुसको छाना हटाइ टिनको छाना लगाउन रु ८० लाख बजेट छुट्ट्याएको छ । पहिलो चरणमा एक सय ५६ घरमा टिनको छाना लगाउने गरी सहयोग गरिने गाउँपालिका अध्यक्ष डम्बर विकले बताउनुभयो ।

“यसपटक पालो नपाउनेले अर्को वर्ष प्राथमिकतामा पर्नुहुनेछ, गत वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत एक सय ८७ जनाले फुसको छाना हटाएर जस्ता पाता लगाउने सेवा लिनुभएको थियो”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर