धनगढीमाईका प्रशासकीय अधिकृतमाथि हातपात, नगरपालिकाको कामकाज ठप्प — OSNepal

धनगढीमाईका प्रशासकीय अधिकृतमाथि हातपात, नगरपालिकाको कामकाज ठप्प

LC (KTM) April 28, 2023 0

सिरहा, १५ वैशाख – प्रशासकीय अधिकृतमाथि हातपात भएपछि धनगढीमाई नगरपालिकाको कामकाज ठप्प भएको छ । शुक्रबार सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका थिए ।

शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूले कामकाज ठप्प पारेका छन् । नगरपालिकाले वडा–१० स्थित अवैध रूपमा उत्खनन भइरहेको ग्राभेल खानी बन्द गराएको थियो ।

त्यही विषयमा निहुँ खोज्दै कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका धनगढीमाई–१२ का महेश अधिकारी र वडा–४ का रामएकवाल यादव (बतहा)सहित ५/७ जनाको समूहमा आएका व्यक्तिहरूले प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेमाथि हातपात गरेको छ ।

उनीहरूले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरूले बताएका छन् । हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समूहलाई बाहिर निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर