प्रधानमन्त्रीको पहलपछि नुवाकोटका किसान घिमिरेको माग सरकारले सम्बोधन गर्ने — OSNepal

प्रधानमन्त्रीको पहलपछि नुवाकोटका किसान घिमिरेको माग सरकारले सम्बोधन गर्ने

LC (KTM) April 28, 2023 0

काठमाडौँ-सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान घिमिरेले उठाउनुभएको माग सम्बोधन गर्न बिहीबार नै निर्देशन दिनुभएको थियो ।

सचिव घिमिरेलगायतको टोलीले किसान घिमिरेसँग आज पनि वार्ता गरेको थियो । सोही वार्ताका आधारमा माग सम्बोधन गर्ने प्रतिवद्धता सरकारको तर्फबाट व्यक्त भएको छ ।

प्रधानमन्त्री प्रचण्डले जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने र त्यसका लागि सरकारले नै सबै माग सम्बोधन गर्ने बताउँदै किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्देशनअनुसार नै उहाँको माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । माग सम्बोधन हुने भएपछि घिमिरेले आमरण अनशनसहितको कार्यक्रम स्थगित गर्ने विश्वास लिइएको छ ।

कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्र पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै किसान घिमिरे यही ५ वैशाखदेखि काठमाडौँको भूगोल पार्कमा आमरण अनशनमा बस्नुभएको थियो । यस्तै लघुवित्त समस्याको विषयलाई लिएर माइतीघर मण्डलामा आन्दोलनरत पक्षसँग प्रधानमन्त्री दाहालको जनसम्पर्क सल्लाहकार वुद्धि जिसीलगायतको टोलीले आज वार्ता गरेको छ ।

लघुवित्त संस्थाले शोषण गरेको भन्दै लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका थिए । सो टोलीसँग आज भएको छलफलका आधारमा प्रधानमन्त्री दाहालले शनिबार सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवसहितको बैठकको आयोजना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर