तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान — OSNepal

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान

LC (KTM) April 29, 2023 0

चौतारा -सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि तरकारी खेतीमा लागेको किसान राजु पुरी बताउनुहुन्छ । पुरीका अनुसार स्थानीय गैरसरकारी संस्था टुकी सङ्घ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामग्री, बीउबिजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण गरिएको छ ।

किसानको मागका आधारमा नै जापानी संस्था जाइकाको सहयोगमा आफूहरुले किसानसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको टुुकी सङ्घ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।

यो बस्ती पनि सुक्खाग्रस्त क्षेत्र हो । सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन् । गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धाराबाट १५ मिनेटजति पानी आउँछ । त्यही पानीलाई जोहो गर्दै गोलभेँडा खेती गर्दै आएको स्थानीय देवकी गिरी बताउनुहुन्छ ।

सिँचाइका लागि स्थानीय तहले प्रबन्ध मिलाइदिए तरकारी खेतीबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामा बताउनुहुन्छ । “अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेँडा लगाएछौँ सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्नै छौँ”, किसान लामाले भन्नुभयो । सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीमा यतिखेर टनेल देख्न सकिन्छ । टनेलभित्र खासगरी गोलभेँडाका बोट लोभ लाग्दा भएर लहलाउँदा छन् । किरा नियन्त्रको व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत पु¥याइरहेको छ ।

पहिलोपटक तरकारी खेती गर्दै गरेका यहाँका किसान खेतीबाट आशावादी भएका छन् । जङ्गली जनावरले आफ्ना मेहनतमाथि नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको यहाँका किसान बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर