विद्युतीय पार्श्वचित्रका लागि तथ्याङ्क सङ्कलन गर्दै महानगरपालिका — OSNepal

विद्युतीय पार्श्वचित्रका लागि तथ्याङ्क सङ्कलन गर्दै महानगरपालिका

LC (KTM) May 02, 2023 0

पोखरा, १९ वैशाख । पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।

यस्तो प्रकारको तथ्याङ्क सङ्कलनले महानगरलाई आगामी योजनाहरू निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । तथ्याङ्क सङ्कलन गर्न छनौट भएका सर्वेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । “समग्रमा महानगरको अवस्था के हो भन्ने विषयलाई विद्युतीय अभिलेखीकरण गर्न जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, यस्तो अभिलेखले महानगरका योजनाहरू निर्माण गर्दा त्यसको आवश्यकता र प्राथमिकता निर्धारणमा महत्त्वपूर्ण सहयोग पुग्छ ।” उहाँका अनुसार सर्वेक्षकहरूले महानगरवासीका घरघरमा पुगेर यथार्थ विवरण सङ्कलन गर्नेछन् ।

नगरवासीहरूको प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङक्को पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र त्यसलाई करको दायरामा ल्याउँदै प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्ने उहाँले बताउनुभयो ।

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर