घाइते कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु — OSNepal

घाइते कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

LC (KTM) May 02, 2023 0

काठमाडौँ-आगलागीमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिनुभयो । गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो ।

अस्पतालले उहाँका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उहाँका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिनुभयो । उहाँको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उहाँका टिम संलग्न छ । अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराइने डा पाण्डेले जानकारी दिनुभयो ।

डा भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किनुभएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ ।

शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन् । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उहाँकी आमा हरिकला भण्डारी पनि घाइते हुनुभएको थियो । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर