भरतपुर महानगरपालिकाद्वारा नारायणी नदी किनारबाट अवैध संरचना हटाउन सुरु — OSNepal

भरतपुर महानगरपालिकाद्वारा नारायणी नदी किनारबाट अवैध संरचना हटाउन सुरु

LC (KTM) June 01, 2023 0

भरतपुर -भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ ।

यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताउनुभयो । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उहाँले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताउनुभयो ।

महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उहाँले जानकारी दिनुभयो । विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो । महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ । नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको थियो ।

महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ । सोही समितिले सबै वडामा काम गर्ने उहाँले बताउनुभयो । सरकारी जग्गामा व्यवसाय, सङ्घसंस्था रहेको तथ्याङ्क सङ्कलनको काम सकिएको महानगरले जनाएको छ ।

यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । उहाँले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताउँदै नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने कार्य सम्पूर्ण महानगरवासीको साथ सहयोग अपेक्षा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर