जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी — OSNepal

जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी

LC (KTM) June 09, 2023 0

जलेश्वर-महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी रहेको छ ।गत शुक्रबारदेखि नै विभिन्न अनुष्ठानका साथ सुरु भएको संसारीमाईको सप्ताहव्यापी पूजा विधिको आज अन्तिम दिन बलि प्रदान गरेसँगै समापन हुने छ । संसारीमाईको पुजारी महेन्द्र मुखियाले पञ्चबलि आज दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले संसारीमाईको पूजा जारी रहेको बताउनुभयो । प्रत्येक पाँच वर्षमा एक पटक मात्रै हुने संसारीमाईको यस वर्षको पूजाविधि गत शुक्रबारदेखि विधिवत् सुरु भएको थियो ।

महापूजाको अन्तिम दिन आज पशु पंक्षीको बलिपश्चात् पूजा समापन हुने संसारीमाई पूजा समितिका अध्यक्ष अशोककुमार साहले बताउनुभयो । सप्ताहव्यापी महापूजाको पहिलो दिन गत शुक्रबार जलेश्वर नगरपालिका–२ स्थित बरुण सरोवरको पूर्वी दक्षिणी कुनाको डिलमा अवस्थित मन्दिरको सर सफाइ तथा विशेष जल (गङ्गाजलसहित) ले पखालेर शुद्धीकरण गरिएको थियो । सोही दिन जलेश्वर नगरभरि नै सरसफाइ तथा शुद्धीकरण कार्यक्रम गरिएको थियो । सरसफाइ कार्यक्रममा श्रद्धालु भक्तजनका सरिक भएका थिए ।

अनादिकालदेखि नै अपार शक्ति एवं आस्थाको केन्द्र मानिएको प्रसिद्ध शक्तिपीठ संसारीमाईको महापूजाको सप्ताह व्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन शनिबार कलश शोभायात्रा गरिएको थियो ।

कलश शोभायात्रामा हजारौँ कुमारी कन्याद्वारा कलश लिएर जलेश्वर नगरभरि शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा बाजागाजा, नाचगान, भजनकीर्तन र हजारौँ भक्तजनको सहभागिता रहेको थियो । त्यसैगरी महापूजाको तेस्रो दिन आइतबार माता संसारीको मन्दिर प्राङ्गनमा महापाठ (शक्ति स्वरुपा भगवतीको पाठ) गरिने कार्यक्रम गरिएको थियो ।

त्यसैगरी महापूजाको चौथो दिन माता संसारीको नगरीमा रहनुभएका बाबा जलेश्वरनाथ (नगर देवता) को मन्दिरमा लखराम पूजा गरिएको संसारीमाई महापूजा समितिका अध्यक्ष साहले बताउनुभयो ।

संसारीमाई महापूजाको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन सोमबारदेखि आज अन्तिम आज संसारीमाईको खोइछ भराइ एवं प्रसाद चढाउने कार्यक्रम भइरहेको छ । खोइछ भराइ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रत्येक घरका तथा माताप्रति आस्था भएका अन्य गाउँठाउँसहित भारतीय विभिन्न गाउँठाउँबाट पनि विवाहित महिला आएर मातालाई खोइछ भरिरहेका छन् ।

खोईछमा मातालाई अक्षेता, फूल, फल, सिन्दूर, टीका, मिठाई, नरिवल, शुङ्गार वस्तु, सुन चाँदी चढाउने परम्परा रहेको छ ।

यसैबीच महापूजाको पाँचौँ दिन मङ्गलबार माताको पूजाअन्तर्गत नै हनुमान आराधना गरिएको थियो छैटौँ दिन बुधबार अष्टजाम कार्यक्रम गरिएको थियो । महापूजाको सातौँ दिन बिहीबार (हिजो)देखि विशुद्धरुपमा माता संसारीको पूजाको आरम्भ भएको छ । यस दिनमा माता संसारीलाई महापूजाको लागि आह्वान गरिएको छ । जस कार्यक्रमलाई देवबोलीमा (बिडी सलामी) भनिन्छ । माता संसारीको मुख्य पुजारी महेन्द्र मुखियाले बिहीबार माता संसारीलाई मन्दिरमा विराजमान हुन तथा पूजा, बलि स्वीकार गर्नका लागि निम्तो दिएका छन् ।

यस दिनमा निक्कै धुमधामका साथ मुख्य पुजारीले ठूलो भजनकीर्तनको आयोजना गरेर देवी संसारीलाई आह्वान गरेका छन् र मातालाई बिडी सलामी (निम्तो) दिएका छन् । त्यसैगरी बिहीबार नै साँझ माता संसारीको मन्दिरमा महाआरती पनि गरिएको छ ।

बलि प्रदानको क्रममा जलेश्वर नगरक्षेत्रभित्र बस्ने प्रत्येक नगरवासीले संसारीमाईलाई अनिवार्यरुपमा बलि प्रदान गर्ने परम्परा रहेको छ ।

संसारीमाई संसारकै सबै वर्ग, जातजाति तथा व्यक्तिको आस्थाको केन्द्रविन्दुको रुपमा रहनुभएकाले उहाँलाई बलिको रुपमा प्रदान गरिने प्रत्येक बस्तुको बलि प्रदान गरिने चलन रहेको छ ।सुरुमा माता संसारीलाई पाँच जीवको पञ्चबलि चढाइन्छ भने त्यसपछि उहाँलाई आस्था र क्षमताअनुसार भक्तजनले मुसो, परेवा, हाँस, कुखुरा, बोका, सँुगुर, बङ्गुर र अन्त्यमा राँगा बलि प्रदान गरिन्छ ।

प्रत्येक पाँच वर्षको अन्तरालमा हुने संसारीमाईको महापूजा यसअघि विसं २०७५ वैशाख २१ गतेको दिन भएको संसारीमाईको पुजारी (धामी) महेन्द्र मुखियाले जानकारी दिनुभयो ।जलेश्वर नगरमा हुने संसारीमाईको पूजामा नेपाल तथा भारतका श्रद्धालु एवं दर्शनार्थीहरु सहभागी भएका छन् ।अहिले बडो धुमधामका साथ प्रत्येक पाँच वर्षमा मनाईने संसारीमाईको पूजा अनादीकालदेखि हुँदै आएको छ ।

सुरु सुरुमा संसारीमाईको पूजा प्रत्येक १२ वर्षमा हुने गरेको थियो । त्यसपछि प्रत्येक सात वर्षमा भयो भने अहिले विगत तीन÷चार पटकदेखि संसारीमाईको पूजा प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएको छ ।संसारीमाईको पूजा भव्यरुपमा हुने तथा लाखौँको सङ्ख्यामा भक्तजनले पूजा अर्चना र बलि प्रदान गर्ने भएको हुनाले जलेश्वरमा यस पूजाको अवसरमा ठूलो मेलाको समेत आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर