अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ : प्रधानमन्त्री दाहाल — OSNepal

अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ : प्रधानमन्त्री दाहाल

LC (KTM) June 10, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका गि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाउनुभयो ।

अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा–११४३ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफूले विश्वास लिएको तथा संस्कृति संरक्षणका लागि ज्यापू गुठीलगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।

आर्केष्ट्रामा चार सय कलाकारले एकैपटक विभिन्न बाजा बजाएका छन् । बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले संस्कृति, कलाको संरक्षण गरेर मात्रै मुलुकभित्र पर्यटक भित्र्याउन र त्यसलाई आर्थिक विकासमा केन्द्रित गर्न सकिने बताउनुभयो ।

आगामी आवको बजेटमा काठमाडौँ उपत्यकाको कला संस्कृतिको संरक्षणका लागि बजेट व्यवसथापन गरिने उहाँको भनाइ छ । बागमती प्रदेशभित्र नेवाः र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने वातावरण तय भएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई सांस्कृतिक नगरी बनाउने सपना देखेको र त्यसलाई पूरा गर्न आफूहरूले मूर्त अमूर्त कला तथा संस्कृतिको प्रवर्द्धन गर्दै आएको बताउनुभयो । उहाँले देशभित्र रहेका बाजा घन्काउने उद्देश्य राखेकामा आज त्यो पूरा भएको उल्लेख गर्नुभयो ।

सांस्कृतिक विविधता, भाषाभाषी, सङ्गीतमा विविधता भएपछि एक अर्कामा अन्तरसम्बन्धित र एकीकृत रहेको उहाँको भनाइ थियो । मुलुकको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एक आपसमा मिलेर अगाडि बढ्नु जरुरी रहेको उपप्रमुख डंगोलको भनाइ छ ।

ज्यापू महागुठीका अध्यक्ष राजभाई जकमीः ले युवा पुस्तालाई नेपाली कला तथा संस्कृतिको महत्त्व बुझाउनका लागि यस खालको कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले लोक सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आफैँमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।सांस्कृतिक सहरको पहिचान बनाउन सफल काठमाडौँ महानगर पालिकाको संयुक्त प्रयासमा यस अकेष्ट्राको आयोजना गरिएको जकमीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर