आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेको छु : विनोद चौधरी — OSNepal

आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेको छु : विनोद चौधरी

LC (KTM) June 11, 2023 0

नवलपरासी, २८ जेठ-नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताए ।

आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिवद्धतापूर्ण रुपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईहरु सबैले देख्नुभएको छ ।’

नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिवद्धता कार्यान्वयनमा आफू इमान्दार भएको बताए । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको  छु । चुनावी प्रतिवद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धीलाई संस्थागत गर्न म सदैव सक्रिय छु,’ उनले भने ।

उनले वर्षौदेखि समस्याका रुपमा रहेको गण्डक आयोजनाको कामले तीब्रता पाएको बताए । ‘हरेक वर्ष मनसुन आउने वित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौं वर्षसम्म विग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरुले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुवान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’

सांसद चौधरी निर्वाचित भएपछि नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यले तीब्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो सडकखण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढि काम भएको छ । अबको आठ महिनाभित्रै नवलपरासीखण्डको सडक निर्माण सम्पन्न हुने प्रतिवद्धता ठेकेरदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गको काम अगाडि बढेको सांसद चौधरीको दावी थियो । ‘विभिन्न प्रकारका अवरोधको भूमरीमा परेको हुलाकी राजमार्गको काम अहिले अगाडि बढेको छ । विगतमा एकले अर्कालाई दोषारोपण गर्ने काम भएको थियो । अब  यो काम सुचारु भएको छ,’ उनले भने ।

उनले केराको उत्पादन, बीउ र बजारीकरणका विषयमा पनि आफूले काम गरिरहेको बताए । विगतमा  केराको वीउ अर्को मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा नवलपरासीमै वीउ  उत्पादन हुन थालेको सांसद चौधरीले उल्लेख गरे ।

हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने चौधरीले विकासका आयोजना र कामका बारेमा सरोकारवाला पक्षसँग संवाद गर्ने गरेका छन् । विकास निर्माणका काममा भएका प्रगति र समस्याका बारेमा उनले छलफल गर्दै आएका छन् ।

‘म हरेक महिना जिल्ला आउँदा विकास निर्माणका कार्ययोजनाका विषयमा छलफल र संवाद गर्ने गरेको छु । कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरोकारवाला निकायसँग सहजीकरणका लागि सबैसँग सामूहीक छलफल गर्ने गरेका छौं,’ उनले भने, ‘आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेका छौं । हामीले विकासमा काममा पार्टी हेरेका छैनों,  न व्यक्तिको अनुहार ।’

चुनावका बेला ६ महिनामा भूमीहीनलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता कार्यान्वयनमा आइसकेको उनको भनाई थियो । त्यस्तै नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपनि अदालतमा मुद्धा परेका कारण कार्यान्वयनमा आउन ढिलाई भएको प्रष्ट पारे । उनले नवलपरासी १ को विकासका लागि परियोजनाको छनौट गरेको र त्यसमध्ये १५ गौरवका आयोजनाको चयन भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्यले सांसद चौधरीको जितपछि व्यवस्थित रुपमा विकासको काम अगाडि बढेको बताए । उनले विगतमा विकास निर्माणमा हुने अवरोधलाई हटाएर सांसद चौधरीले सबै पक्षसँगको समन्वयमा काम गर्ने गरेको बताए ।

बर्दघाट नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले नवलपरासीको विकासका लागि सांसद चौधरीले स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न उर्जा थपिएको बताए । उनले भने, विकासमा जुन सपना देखाउनुभएको छ, त्यसलाई हामी सबैले सहयोग गर्नेछौं । उहाँ यो निर्वाचन क्षेत्रमा आउनु गौरवको यो विषय हो हामी सबैका लागि । नदेखिने खालका विभिन्न समस्याहरु थिए, त्यसलाई उहाँले सम्बोधन गर्नु भएको छ,‘ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर