४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण — OSNepal

४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

LC (KTM) June 11, 2023 0

भक्तपुर, २८ जेठ-उच्च शिक्षाको लागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौ विश्वविद्यालय (केयु) ले एक समारोहकाबिच आइतबार ४४ जना प्रशिक्षार्थीहरूलाई  प्रमाणपत्र वितरण गरेका छन् ।

नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलाण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाई सम्बन्धी पेशागत तालिमहरू चलाइरहेका छन् ।

यसवर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बर देखि २०२३ मार्चसम्म र केयुले २०२२ डिसेम्बरदेखि २०२३ अप्रिलसम्म आयोजना गरेका थिए । नेकले सरसफाई प्रविधिमा पेशागत अध्ययन कार्यक्रममा यसपल्ट नौ जना महिला र १० जना पुरूष गरी जम्मा उन्नाइस जनाले तालिमका सबै मापदण्डहरू पुरा गर्न सफल भएका थिए । सोही विषयमा केयुले आयोजना गरेको कार्यक्रममा चारजना विदेशी विद्यार्थीहरूसहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू सफल भएका थिए ।

अघिल्लो वर्ष पनि यी दुबै संस्थाहरूले समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरेका थिए । विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरू प्राविधिकहरूले सरसफाई क्षेत्रमा कुनै पनि देशमा कामको लागि आवेदन दिन सक्ने छन् ।

नेपालमा सरसफाई विधामा गर्नुपर्ने सुधारहरू व्यापक भएकोले प्रशिक्षित प्राविधिकहरूले देशमै योगदान गर्नसक्ने क्षेत्रहरू धेरै छन् । नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेको कार्यक्रममा नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्रा.डा. बिमप्रसाद श्रेष्ठले बताए । कार्यक्रमको संयोजन नेककोतर्फबाट उपप्राध्यापक विनय शाक्यले तथा केयुकोतर्फबाट उपप्राध्यापक सुमन धुँ श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर