झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहाराको व्यवस्थापनको काम शुरु — OSNepal

झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहाराको व्यवस्थापनको काम शुरु

LC (KTM) June 19, 2023 0

झापा-झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको छ । रु १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो । हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्लाकै आठ वटा समुदायिक वनमा चार हजार बाँस र दुई हजार आठ सय केराको बिरुवा लगाउन थालिएको छ । “बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको छ”, डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले भन्नुभयो, “बिरुवा रोप्न खाल्डो खन्ने काम सकिएको छ, वर्षा सुरु भयो अब बिरुवा लगाइने छ ।”

जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा एक हजार र केरा आठ सय, साधुपर्ती सामुदायिक वनमा बाँस एक हजार र केरा चार सय ६०, पूर्व देउराली सामुदायिक वनमा चार सय केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस आठ सय र केरा दुई सय, दियालो सामुदायिक वनमा बाँस दुई सय र केरा चार सय, विशाल सामुदायिक वनमा बाँस चार सय, दुर्गाभिट्टा सामुदायिक वनमा केरा चार सय र मायालु सामुदायिक वनमा बाँस छ सय र केरा दुई सय वटा बिरुवा लगाइने छ ।

वन क्षेत्रमा बाँस र केरा लगाउन रु १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ । झापाका सामुदायिक वनमा एक दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर