मलेसियामा एक नेपालीको मृत्यु



(एनपि न्यूज डटनेट) ०३ भदौ- मजदुरका रुपमा काम गर्न मलेसिया पुगेका पिपलाडी–८ असैनाका २५ वर्षीय प्रल्हाद रानाको मृत्यु भएको छ । मलेसियाको मलाका सहरमा रहेको जुस बनाउने कम्पनी मामी फुजमा राना दुई वर्षदेखि कार्यरत थिए । स्थानीयवासी दलालको सहयोगमा ललितपुर जाउलाखेलमा रहेको लक्की एचार्ज मेनपावर कम्पनीमार्फत राना मलेसिया पुगेका थिए ।

कम्पनीबाट काम सकेर साँझपख बस्दै आएको कोठामा फर्केका रानाले छाती दुखेको भन्दै ओछ्यानमा पल्टिएपछि उनको मृत्यु भएको उनीसँगै काम गर्दै आएका गाउँका साथीले उनका घरमा फोन गरेर दुई दिनअघि जानकारी गराएका हुन् । तीन दिनअघि मृत्यु भएका रानाको शव मलेसियाकै अस्पतालमा छ ।

मृतका आफन्तले शव नेपाल ल्याउनका लागि स्थानीय दलालमार्फत मेनपावर कम्पनीलाई जानकारी गराउँदासमेत हालसम्म यहाँ आइनपुग्दा मृतकका परिवार चिन्तित भएको स्थानीयवासी कृष्णा रानाले बताउनुभयो ।

जग्गा बैंकमा धितो राखी रु एक लाख २५ हजार ऋण निकालेर उहाँ मलेसिया गएको बताउँदै मृतककी श्रीमती अनारकलीले भन्नुभयो–“कमाउने व्यक्ति नै नरहेपछि बैंकको कर्जा कसरी तिर्ने भन्ने बोझ थपिएको छ ।” जग्गा थोरै भएकाले मलेसियाकै कमाइले घरखर्च चल्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“त्यसैले बैंकको कर्जा तिर्न नभ्याएका हौँ ।”

बिमाको रकम र शव ल्याउनका लागि पहल भइरहेको बताउँदै स्थानीयवासी दलाल जगता रानाले चार दिनभित्रै शव यहाँ आइपुग्ने आश्वासन दिनुभयो ।

Comment