इन्द्रजात्राको अवसरमा नेपालभाषाको गीत प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने — OSNepal

इन्द्रजात्राको अवसरमा नेपालभाषाको गीत प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने

LC (KTM) August 25, 2023 0

पाटन-इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि पाटन म्युजियमको सहयोग रहने जानकारी दिइएको छ ।

कला क्षेत्रको विकास र परम्परादेखि चलिआएको संस्कृति संरक्षणका लागि प्रतियोगिता गर्न लागिएको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालभरिका कलाकारहरुले भाग लिन सक्नेछन् । “जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन्”, वडा अध्यक्ष शाक्यले भन्नुभयो ।

प्रतियोगितामा प्रथम हुने गीतले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था छ। त्यस्तै, दोस्रोका लागि ७५ हजार र तेस्रोका लागि ५० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चौथो स्थानमा पर्नेले सान्त्वना स्वरुप २५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट संगीतकार र रचनाकारले समेत जनही २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
सबै उमेर समूहका व्यक्ति वा समूहले भाग लिन पाउने उक्त प्रतियोगितामा समावेश हुने नेपालभाषाको गीत ३ देखि ५ मिनेटसम्मको हुनुपर्ने नियम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर