ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट — OSNepal

ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

LC (KTM) August 30, 2023 0

काठमाडौँ, १३ भदौ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएकोे ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गरिने बताउनुभयो । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम अगाडि बढाएको उल्लेख गर्दै उहाँले त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्क रहेको बताउनुभयो ।

नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभयो । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै मन्त्री बस्नेतले त्यसबाट जोगिन अनुकूल उपायको खोजी गरिरहेको बताउनुभयो ।

बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका लागि नेपाल सरकारसँग मिलेर काम गर्न बेलायत तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्रीसम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढिने बताउनुभयो । भेटमा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो ।

यस्तै ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले पनि शिष्टाचार भेट गर्नुभयो । सो भेटमा मन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिनुभयो । सो अवसरमा उहाँहरूबीच आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायत विषयमा छलफल भएको थियो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर