मेरो नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ — OSNepal

मेरो नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ

LC (KTM) September 02, 2023 0

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभाम्भ गर्दै प्रचण्डले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको बताउनुभएको हो । उहाले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको धारणा राख्नुभयो । सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको उहाले बताउनुभयो ।

त्यस्तै जनतालाई सहज रुपमा सेवा दिनका लागी पनि सरकारले गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको उहाको भनाइ छ । प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको जिकिर गर्नुभयो । बिभिन्न उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने षड्यन्त्रहरू भइरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उहाले बताउनुभयो । सिंगो पार्टी एकढिक्का भएर अगाडि बढे सबै चुनौती सामना गर्न सक्ने र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्ने बताउनुभयो ।

समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ अभियानले सफलता प्राप्त गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो । उहाले जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा रहेको धारणा राख्नुभयो । तीनमहिनासम्म चल्ने अभियान अन्तर्गतमा माओवादीका नेताहरु जनताको घर–घरमा जाने माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर