सिमसार क्षेत्रमा विश्वबाट लोपोन्मुख दुई प्रजातिका चरा फेला



नवलपरासी, २८ पुस- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सिमसार क्षेत्रमा विश्वबाट लोपोन्मुख दुई प्रजातिका तीन प्रकारका चरा देखा परेका छन् ।

टाइगर टप्स नेपालले गरेको चरा (पक्षी) गणनानुसार नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेको गरुड प्रजातिको भुँडीफोर, लोभीपापी गरुड र हाँस प्रजातिको कैलो टाउके हाँस देखापरेका हुन् ।

सरकार आफैँले आफ्नो देशमा रहेका पक्षीको यथार्थ तथ्यांक राख्न नसकिरहेका अवस्थामा सन् १९८७ देखि निरन्तर टाइगर टप्स नेपालले प्रत्येक वर्ष जनवरीमा चरा गणना गर्दै आइरहेको छ ।

नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा गरिएको चरा गणनामा विश्वबाट नै लोप हुन लागेका ती प्रजातिका लोपोन्मुख चरा देखिएको पश्चिम क्षेत्र चरा गणनाका संयोजक पक्षीविद् डिबी चौधरीले जानकारी दिनुभयो ।

जाडो छल्न विभिन्न देशबाट यस क्षेत्रमा पक्षी आउने भएकाले हरेक जनवरीमा पक्षी गणना गरिन्छ । यस वर्ष नारायणी आसपासमा ३९ प्रजातिका ४५ प्रकारका सबै प्रकारका पक्षी देखापरेका छन् । गणनाका क्रममा सबैभन्दा बढी चखेवा भेटिएको थियो ।

अघिल्लो वर्ष नेपालमा नआएका सात प्रकारका विदेशी चरासमेत यस वर्ष जाडो छल्न नेपाल आएको पाइएको छ । नवलपरासीको गैँडाकोट सिख्रौलदेखि त्रिवेणीसम्म चरा गणना गरिएको थियो । प्राविधिक टोलीद्वारा गरिएको चरा गणनानुसार अघिल्लो वर्षभन्दा यस वर्ष पूर्व नवलपरासीको नारायणी नदी र सिमसार क्षेत्रमा जलचर पक्षीको संख्या बढेको छ ।
गैँडाकोट महोत्सव

‘आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव’ भन्ने मूल नाराका साथ नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) गैँडाकोट महोत्सव शुरु भएको छ ।

गैँडाकोट महोत्सवको बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको थियो । गैँडाकोट उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नारायणी नदी किनारमा जारी महोत्सव १० दिनसम्म चल्ने छ ।

महोत्सवमा कृषि, व्यापार, पर्यटन, सूचना प्रविधि, अटोमेकानिकलगायत कूल ३२० व्यावसायिक कक्ष छन् जसमध्ये ४० प्रवद्र्धनात्मक कक्ष छन् ।

महोत्सव आगामी माघ ८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय उत्पादनसहित सीमान्तकृत वर्गका उत्पादन, अपांगतायुक्त व्यक्तिका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादन र विभिन्न जातजातिका मौलिकता झल्कने घरसमेत आकर्षणका रुपमा राखिएको आयोजक गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।

Comment