जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने — OSNepal

जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने

LC (KTM) September 04, 2023 0

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले तीन हजार एक सय ८३ वटा उद्योगहरु यहाँका स्थानीय तहलाई हस्तान्तरण गरेको छ । उद्योगतर्फ दुई सय ९१ र वाणिज्य तर्फका दुई हजार आठ सय ९२ वटा उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

कार्यालयमा हालसम्म तीन हजार छ सय ९३ उद्योग र तीन हजार एक सय चारवटा वाणिज्य उद्योगहरु दर्ता भएका छन् । कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “कार्यालयबाट हुने उद्योगहरुको दर्ता र नवीकरण गर्ने अधिकारको जिम्मेवारी स्थानीय तहले दिएका छौँ ।” कार्यालयमा हालसम्म दर्ता भएका तीन हजार छ सय ९३ उद्योगमध्ये दुई सय ९१ उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । तीन हजार चार सय दुईवटा उद्योग कार्यालय मातहतमा रहने कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

वाणिज्य उद्योततर्फका तीन हजार एक सय चारवटा उद्योगमध्ये दुई हजार आठ सय ९२ उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । दुई सय १२ वटा उद्योगहरु कार्यालय मातहत रहने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार उद्योगतर्फका पाँच लाखभन्दा माथि पूँजी भएका र वाणिज्य उद्योततर्फ १० लाखभन्दा माथि पूँजी भएका उद्योगहरु भने कार्यालयको मातहतमा दर्ता हुने जानकारी दिनुभयो ।

स्थानीय तहलाई हस्तान्तरण गरेको उद्योगतर्फका जम्मा दुई सय ९१ र वाणिज्यतर्फका दुई हजार आठ सय ९२ वटा उद्योग जिल्लाका स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । कार्यालय मातहत रहने उद्योगहरुको दर्ता र नवीकरण कार्यालयबाटै हुने भएको छ । पाँच लाखसम्म पूँजी भएका उद्योग र १० लाखसम्म पूँजी भएका वाणिज्यतर्फका उद्योगहरुको हकमा दर्ता र नवीकरण अब स्थानीय तहबाटै हुने कार्यालयले जनाएको छ ।

उद्योग दर्ता गर्नेका लागि सदरमुकाम खलङ्गा आउने सेवा प्रवाह स्थानीय तहबाट हुने भएकाले यहाँका नागरिकलाई छिटो र सहज सेवा दिन स्थानीय तहको काँधमा आएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताउनुभयो । स्थानीय तहमै उद्योग दर्ताको अख्तियारी प्राप्त भएपछि सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्रदान गरिने भएको छ ।

उद्योगहरुको दर्ता र नवीकरण स्थानीय तहबाट हुँदा राजस्वमा समेत वृद्धि हुने चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बताउनुभयो । उद्योग शाखामार्फत सेवा दिइने र नागरिकलाई राहत हुने गरी गाउँकेन्द्रित सेवा विस्तार गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सङ्घीयताको मर्मअनुसार उद्योगहरुको काम स्थानीय तहबाट सेवा प्रवाह हुनु राम्रो काम भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर