राष्ट्रियसभाको चुनाव लगत्तै सरकार छोड्ने देउवाको घोषणा

Posted By OSNepal, California, USA || Date: 13 January, 2018

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको चुनाव लगत्तै सरकार छोड्ने घोषणा गरेका छन् । शुक्रबार धनगढी विमानस्थलमा आज पत्रकारसित कुरा गर्दै आफू सरकारको नेतृत्व छोड्न तयार रहे पनि राष्ट्रियसभाको निर्वाचनअघि सरकार छोड्ने अवस्था नभएको उनले प्रष्ट पारे ।

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नका लागि पटक पटक गरिएको छलफलमा सहमति जुट्न नसकेपछि अब सरकारले आफै तोकिदिने प्रधानमन्त्रीले बताए । उनले, अहिले सम्म पटक पटक अन्य दलहरुसँग छलफल गरिएको तर सहमति हुन नसकेकाले संविधान अनुसार अब सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने प्रष्ट पारेका हुन्।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा भाग लिन २१ राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचन आयोगले दिएको १५ दिनको शुक्रबार अन्तिम दिनसम्म २१ वटा राजनीतिक दलले राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसअघि स्थानीय तह तथा प्रतिनिधि र प्रदेशसभा चुनावमा एक सिट नजितेका दलले पनि राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्यका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदले मतदान गर्ने छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दलले यसअघिका चुनावमा एक सिट पनि जितेका छैनन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!