जनताका समस्यालाई समाधान गर्न नयाँ ढङ्गले काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल — OSNepal

जनताका समस्यालाई समाधान गर्न नयाँ ढङ्गले काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल

LC (KTM) September 11, 2023 0

विराटनगर, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उहाँले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

हेलो सरकार कार्यक्रमबाट जनताका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको बताउनुभयो । सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार वैदेशिक रोजगारमा रहेका युवा आबद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख वैदेशिक रोजगारमा रहेका युवा आबद्ध हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकार सामाजिक न्यायका लागि निरन्तर काम लागिरहेको छ ।”

मिटर ब्याजीजस्ता नागरिकताका समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा निडरताका साथ काम गरिहेको बताउँदै उहाँले भन्नुयो, “सन्देशसभाले सरकारलाई नयाँ शक्ति प्राप्त गर्न मद्दत गरेको छ ।” जनताका समस्या र टिप्पणी सुन्नलाई हेलो सरकार २४ घण्टै खुला रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्दै सरकार विगतको भन्दा फरक ढङ्गले काम गरिरहेको चर्चा गर्नुभयो । उहाँले छिमेकी राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर परिरहेको भनि जानकारी गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिन लागेको जानकारी दिँदै सो विषय महत्त्वपूर्ण र दूरगामी रहेको धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालले मोर्चाले समाजमा निराशा होइन आशाको सञ्चार गर्न खोजेको बताउनुभयो । उहाँले समाजमा रहेका नकारात्मक गतिविधिलाई हटाइ सकारात्मक बनाउने भन्दै मोर्चाले गौरवशाली समाजवादको सन्देश दिइरहेको कुरामा जोड दिनुभयो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत १६ वर्षमा १३ पटक सरकार परिवर्तनको खेलले मुलुकमा सङ्घीयता र लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै संविधान प्रदत्त अधिकार प्रदेश सरकारले प्राप्त गर्न नसकेको टिप्पणी गर्नुभयो । समानता र विभेदको आक्रोश जनतामा बढ्न थालेकाले सरकारलाई गम्भीर भएर काम गर्न सुझाव दिँदै उहाँले राजनीतिक स्थिरता नहुँदा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि नकारात्मक असर परेको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विपल्व’ ले नेपालको स्वाधीतनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन भएको भन्दै देश र जनतालाई समस्या परेका बेलमा मोओवादी एकजुट हुने धारणा राख्नुभयो । मोर्चामा आबद्ध नेता बलदेव चौधरी, प्रवेश हमाल र रकम चेम्जोङले पनि मोर्चाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर