बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकियो — OSNepal

बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकियो

LC (KTM) September 19, 2023 0

बेनी (म्याग्दी), २ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तीजको साँझ लाखेको मुकुण्डोलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिएको हो ।

दिनभर बेनीबजारमा प्रदर्शन भएको लाखेनाच साँझ बेनीबजारको सङ्गमचोकमा लाखे र श्रीकृष्णको स्वरुप धारणा गरेका कलाकारको तरबार नाचसहित देखाइएको थियो । बेनीको सांस्कृतिक जात्राका रुपमा रहेको बर्खेनाचको अन्तिम दिनको लाखे र श्रीकृष्ण बीचको तरबार लडाइँको नाच हेर्न सर्वसाधारणको भीड लागेको थियो ।

नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चतुर्दशीदेखि तीजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाइएको नेपाल भाषा मंकाः खलःका उपाध्यक्ष कुवीरकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस वर्षको बर्खेनाचमा लाखे, गोरु, रोपाइँ, नागानागिनी र जोगी नाच देखाइएको उहाँले बताउनुभयो ।

बर्खेनाचअन्तर्गत प्रस्तुत हुने लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई देखाउने गरिन्छ । बेनीबजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ । नेपाल भाषा मंकाः खलः अन्तर्गत रहेको युवाहरुलाई सांस्कृतिक विभागको नेतृत्वमा तालिम र प्रशिक्षण दिएर बर्खेनाचलाई निरन्तरता दिने गरिएको छ ।

यस वर्ष बालबालिकादेखि युवाहरुले बर्खेनाचमा सक्रिय सहभागिता जनाएका थिए । बर्खेनाचमा करिब एक सय बढी कलाकारहरु सहभागी भएको नेपाल भाषा मंकाः खलः को सांस्कृतिक विभाग संयोजक सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रोपाइँ र जोगीनाचमा बेनीमा रहेका सामुदायिक र निजी विद्यालयका कलाकारहरुले समेत सहभागीता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर