नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक — OSNepal

नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक

LC (KTM) September 28, 2023 0

महेन्द्रनगर (धनुषा), ११ असोज : नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गर्नुभएको हो ।

अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ । लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिनुभयो । भट्टराईले विगत छ वर्षमा सरकारले गरेका क्रियाकलापका आधारमा मधेस प्रदेशमा सुशासनको प्रत्याभूति, समृद्ध मधेसको निर्माण र मधेसको स्वाभिमानलाई माथि उठाउन एमाले सरकारको अपरिहार्यता महसुस गरी अधिवेशनको नारा तय भएको र यसैलाई विसं २०८४ को चुनावमा पनि प्रयोग गरिने बताउनुभयो ।

अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर